• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024
  • 02:32:20
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTDifferent songs

पोखरा रोयलको कौषी खेती तथा गड्यौला मल उत्पादन तालिम

दुलेगौंडा, २४ जेठ ।  पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सदस्यहरुका लागि एक दिने कौषी खेती तथा गड्यौला मल उत्पादन तालिम सम्पन्न भएको छ । 
दुलेगौंडा सेवा केन्द्रमा आवद्ध भएको झण्डै ६० जना सदस्यलाई बुधवार सो तालिम प्रदान गरिएको हो । लामो समयदेखि कौषी खेती र प्राङ्गारिक मल उत्पादनमा लागेका रिखिराम पौडेलले तालिममा सहजिकरण गरेका थिए । सहकारी सञ्चालक समितिका सदस्य एवम् दुलेगौंडा सेवा केन्द्रका संयोजक एक बहादुर गुरुङले तालिमपछि सहकारीका सदस्यहरु आफ्नो परिवारलाई आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्न सक्षम हुने विश्वास व्यक्त गरे । ‘घरबाट निस्कने कुहिने फोहोर हामीले फाल्ने गरेका छौं, यसलाई मल बनाउन सिक्यौं’ उनले भने, ‘अब जैविक मलबाट विषादीरहित तरकारी उत्पादनमा लागौं र जीवनलाई रोगमुक्त बनाऔं ।’  सहभागी पुजा गुरुङले तालिमले केहि गरौं भन्ने थप जागर आएको बताइन् । 
कार्यक्रममा सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङले सहकारीको वर्तमान अवस्था, भावी योजना र सहकारीले गरिरहेका विभिन्न गतिविधिबारे प्रकाश पारेका थिए । उनले पछिल्ला समयमा सहकारीले सदस्यहरुलाई उद्यमशिल बनाउने योजनाका साथ अगाडी बढेको जानकारी दिए । सहकारीका शिक्षा तथा तालिम उपसमिति संयोजक हिरालाल श्रेष्ठले सहकारीले यसअघि पोखरामा सोहि प्रकारको तालिम र मौरिपालन सम्बन्धी तालिम प्रदान गरेको जानकारी दिए । कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख सरस्वती भुजेलले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस