हिलेटार क्षेत्रमा एकादशी मेला सम्पन्न, ६ वटा तोरण तारियो
दुलेगौंडा, ५ मंसिर । तनहुँको शुक्लागण्डकी ४ र ८ को हिलेटार क्षेत्रमा शुक्रवार एकादशी मेला लाग्यो । मेलासँगै विहानदेखि सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लागेको थियो । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा, कास्कीका विभिन्न क्षेत्रबाट पुल्चोकमा आएका थिए । यस वर्ष सेती नदिमा ६ वटा तोरण तारिएको शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका अध्यक्ष परशुराम भण्डारीले जानकारी दिए । मेलालाई व्यवस्थित गर्न यस पटक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थालाई नगरले जिम्मेवारी दिएको थियो । संस्थाले स्थानीय उत्पादनबाहेक अन्य स्टललाई निश्चित शुल्क संकलन गरेको छ । मेलालाई लक्षित गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दमौली र शुक्लागण्डकी नगरपालिकाको समन्वयमा अनुगमन गरिएको छ । राजश्व शाखा प्रमुख रामचन्द्र सुवेदीको नेतृत्वमा खटिएको टोलीले म्याद गुज्रिएका र स्वास्थ्यलाई हानी गर्ने अखाद्य बस्तु नष्ट गरिएको थियो । स्वास्थ्य शाखाले राखेको स्वास्थ्य जाँच कक्षमा ६३ जनाले स्वास्थ्य परिक्षण गरेको शाखा प्रमुख डिवी थापाले जानकारी दिए । सो अवसरमा रक्तचाप परिक्षण गर्नुका साथै सुगर र प्रेसरको औषधी प्रदान गरिएको थियो । मेला क्षेत्रमा इलाका प्रहरी कार्यालय बेलचौतारका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठको नेतृत्वमा सुरक्षाकर्मीका साथै नगर प्रहरी परिचालित भएको थियो । एकादशीको अवसरमा शुक्लागण्डकी नगरपालिकाले स्थानीय विदा दिएको थियो ।









प्रतिकृया दिनुहोस