• सोमबार ८-८-२०८३/Monday 11-23-2026
  • 02:58:12
  • ON AIR
  • UP NEXTBhakti Darshan

आज हरिबोधनी एकादशी, पुल्चोक क्षेत्रमा एकादशी मेला, गरगहना नलगाई आउन अपिल

दुलेगौंडा, ४ मंसिर । हरिबोधनी एकादशी ९तुलसीको विवाह ० को अवसरमा आज एकादशी मेला लाग्दै छ । यसको तयारी र सुरक्षाबारे जानकारी लिइएको छ । तनहुँको शुक्लागण्डकी–४ र ८ को पुल्चोक क्षेत्रमा लाग्ने मेलाको अघिल्लो दिन विहिवार शुक्लागण्डकी नगरपालिकाका नगर उपप्रमुख खुम बहादुर विक राजु, विभिन्न शाखाका प्रमुख, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठ, शुक्ला हिलेटार शिवालय व्यवस्थापन समितिका पदाधिकारी, पत्रकारसहितले टोलीले स्थलगत अवलोकन गरेको हो । हिलेटार क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ । साथै सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लाग्ने गर्दछ । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा, कास्कीका विभिन्न   क्षेत्रबाट पुल्चोकमा आउने गर्दछन् । मेलालाई व्यवस्थित गर्न यस पटक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थालाई जिम्मेवारी दिइएको छ । मेला विहान ७ देखि साँझ ६ बजेमात्र सञ्चालन हुने छ । भिड हुने भएकाले गरगहना नलगाई आउन भक्तजनलाई संस्थाले आग्रह गरेको छ । एकादशीको अवसरमा शुक्लागण्डकी नगरपालिकाले स्थानीय विदा दिएको छ । हिन्दु धर्मावलम्वीहरुको पवित्र पर्वको रुपमा रहेको हरिबोधनी एकादशीका दिनमा नगर मातहत रहेका सम्पूर्ण कार्यालय र सामुदायिक विद्यालयहरुलाई बन्द हुने छ । नगरले विगतका वर्षहरुमा पनि हरिबोधनी एकादशीको दिन विदा दिदै आएको छ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ’विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु एकादशिका दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ ।

प्रतिकृया दिनुहोस
↑