• शनिबार ७-२२-२०८३/Saturday 11-07-2026
  • 11:32:29
  • ON AIR
  • UP NEXT

शुक्लागण्डकीको तिहार विशेष हाट बजारमा फूल, माला र अन्य सामग्रीको मुल्य निर्धारण

दुलेगौंडा, २१ कार्तिक । शुक्लागण्डकी नगरपालिकाले तिहार विशेष हाट बजारमा फूल, माला र अन्य स्थानीय सामग्रीको मुल्य निर्धारण गरेको छ । शुक्लागण्डकी–५, बेलचौतारामा रहेको कृषि उपज संकलन तथा विक्रि केन्द्रमा कार्तिक २२ देखि २४ गतेसम्म तिहार लक्षित हाट बजार सञ्चालन हुदै छ । 
शुक्रवार नगरपालिकामा आयोजित सरोकारवालाबीचको छलफलपछि फूलसँगै अन्य स्थानीय उत्पादित सामग्रीको मुल्य तय गरिएको हो । कृषि विकास शाखा प्रमुख दिप कुमार उपाध्यायाका अनुसार सयपत्री फूल ९हाइब्रीड० प्रति केजी ३ सय ५० रुपैया मुल्य निर्धारण गरिएको छ । स्थानीय जातका २ सय २० रुपैया प्रति केजी तोकिएको छ । यसैगरी माला १ सय २० र स्थानीय जातका सयपत्रीको माला ८० रुपैया तोकिएको उनले बताए । यसैगरी अन्य स्थानीय रुपमा उत्पादित सामग्रीको मुल्य पनि तोकिएको छ । 
छलफल कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजुले पहिलो पटक तिहार लक्षित  हाट बजार सञ्चालन गर्न लागिएको बताउदै व्यवस्थित र प्रभावकारी बनाउन सबैले आफ्नो ठाउँबाट सहयोगकोलागि अपिल गरे । प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले हाट बजारमा विक्रिकालागि राखिने बस्तुको गुणस्तरीयतामा ख्याल गर्न किसान र सहभागीलाई आग्रह गरे । उनले गुणस्तरमा कुनै गुनासो आए अनुगमन हुने जानकारी दिए ।
 

प्रतिकृया दिनुहोस
↑