महोत्सवको अवधि नथप्न शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघद्धारा ध्यानाकर्षण
दुलेगौंडा, २० असोज । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले दुलेगौंडामा सञ्चालित वडादशै साँस्कृतिक महोत्सवको समय पुनः थप्न लागिएको भन्दै तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा मंगलवार पुगेको टोलीले जारी महोत्सव पुनः असोज २५ गतेसम्म थप्ने तयारी भएको जानकारी आएकाले यस क्षेत्रका व्यवसायीलाई चाडपर्वमा प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटकपटक नथपि असोज २२ गतेनै अनिवार्य रुपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । शुक्लगण्डकी युवा क्लवको आयोजनामा असोज ८ देखि १८ गतेसम्म सञ्चालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएकोमा असोज ११ देखि २२ गतेसम्म सञ्चालन भइरहेको छ ।
संघका अध्यक्ष श्रेष्ठ र महासचिव सुजन श्रेष्ठद्धारा जारी ध्यानाकर्षणपत्रमा सम्झौता तथा सहमति अनुसार व्यवसाय प्रकृतिका स्टलहरु न्यून राख्ने भनिएतापनि अपेक्षा गरिएभन्दा बढि व्यवसायिक स्टलहरु सञ्चालनमा रहेको उल्लेख छ । चाडपर्वको मुखमा भएको महोत्सवले व्यवसायी आर्थिक मारमा परेको बताउदै न्यायोचित निर्णय गरिदिन प्रमुख जिल्ला अधिकारी तिवारीलाई ध्यानाकर्षण गरिएको छ ।









प्रतिकृया दिनुहोस