शुक्लागण्डकीमा सार्वजनिक सुनुवाइ ः बढ्दो बेरुजु र लालपुर्जाको विषयमा नागरिकको प्रश्न
दुलेगौंडा, ५ भदौ ।
शुक्लागण्डकी नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएको छ।
शुक्लागण्डकी नगरपालिकाको आयोजना तथा शुक्लागण्डकी पत्रकार मञ्चको समन्वयमा नगरसभा हलमा आयोजित सार्वजनिक सुनुवाइमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति र नगरपालिकाले हासिल गरेका उपलब्धिबारे जानकारी गराइएको थियो।कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले भने नगरपालिकामा बढ्दै गएको बेरुजुबारे गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक समाज शुक्लागण्डकीका अध्यक्ष उमनाथ पाठक, स्थानीय मणी पौडेल, मोतिराज गुरुङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरी खड्कालगायतले बेरुजु न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गर्नुभएको थियो।यस्तै, स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लालपुर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए।सहभागीहरूले विशेषगरी कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या तथा अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर बिक राजुलगायतले सहभागी नागरिकहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो।शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अघि बढ्ने जनाएका छन् ।









प्रतिकृया दिनुहोस