• सोमबार ४-११-२०८३/Monday 07-27-2026
  • 03:47:08
  • ON AIR
  • UP NEXTBhakti Darshan

बोइलर पालक किसानको मागः उत्पादक र उपभोक्तबीचको मुल्यको दूरी घटाइदिनू

तनहुँ– बोइलर कुखुरा पालक किसानले उचित मुल्यको माग गर्दै शुक्लागण्डकी नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । उत्पादक र उपभोक्तबीचको मुल्यमा निकै अन्तर भएको भन्दै सोमबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

सोमबार शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर ‘विक’ राजु, प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई बोइलरपालक किसानले ध्यानाकर्षणपत्र बुझाए । ध्यानाकर्षणपत्र बुझाउदै किसान विशन गुरुङले विक्रेताको मनोमानीले बोइलर पाल्ने किसान मारमा परेको अवगत गराए । ‘विक्रेताकै कारण अहिले अधिकांश बोइलर कुखुरापालक किसान पेशाबाट मात्रै नभइ देशबाटै पलायन हुनुपर्ने अवस्थामा पुगेको स्मरण गराउँछौं । कुखुराको मासुमा उत्पादक र उपभोक्ताबीच निकै फरक मूल्य छ’, उनले भने, ‘उत्पादकले आफ्नो मुल्यसमेत नपाएको अवस्थामा उपभोक्ताले पसलैपिच्छै मनलाग्दी मूल्य तिर्न बाध्य छन् । अर्कोतर्फ विक्रेताले महिनौंसम्म किसानलाई कुखुराको मूल्य भुक्तानी नगर्ने प्रवृत्तिले किसान टाँट पल्ने अवस्थामा पुगेका छन् ।’ किसानलाई र उपभोक्तालाई मार नपर्नेगरि बोइलर लगायत कुखुराको मासुको न्यूनमत् र अधिकतम् समर्थन मूल्य तोकिदिन उनले माग राखे । किसानसँग कुखुरा ल्याएपछि तुरुन्त भुक्तानी गर्ने व्यवस्था मिलाइदिन उनले आग्रह गरेका छन् । कुखुरा लगेको रकम सप्लयार्सले बर्षौसम्म पनि भुक्तानी नगर्ने प्रवृत्तिले मारमा परेको उनको भनाइ छ । ‘समर्थन मूल्य तोकेर विक्री गर्दा न विक्रेतालाई मार पर्छ न त उपभोक्तालाई । श्रमको मूल्य बेलामै पाएको खण्डमा किसान पनि कुखुरापालन पेशाबाट पलायन हुनुपर्ने थिएन । तसर्थ शुक्लागण्डकी नगरपालिकाले नगरपालिकाभर कुखुरा र मासुको मूल्य समान कायम गर्नका लागि जोडदार माग गर्दछौं’, गुरुङले भनेका छन् । नगरपालिकाले माग पूरा नगरीकन आलटाल गरेको खण्डमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने उनको चेतावनी छ । अर्का कुखुरा पालक किसान बोमबहादुर गमालले पनि उत्पादक र उपभोक्ता दुवै मारमा रहेको सुनाए । उत्पादकले निकै कम मुल्य पाउने र उपभोक्ताले चर्को मुल्य तिर्नुपर्ने उनको भनाइ छ । ‘सप्लायर्स मोटाइराखेको छ । हाम्रो उत्पादनको मुल्य छैन । सप्लायर्सले मुल्य गर्ने हो । त्यहाँ मिलेकै छैन’, उनले भने, ‘बाहिरबाट आउने कुखुराले पनि हाम्रो मुल्य पाइरहेका छैनौं ।’

उपप्रमुख खुमबहादुर विकले समस्याको समाधानतर्फ लाग्ने प्रतिबद्धता जनाए । ‘हामी यसअगाडि पनि एकपटक छलफलमा जुटेका थियौं । फेरी कसरी हुन्छ तपाईंहरुको समस्या समाधानमा लाग्छौं’, उनले भने । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले उत्पादक किसान, सप्लायर्स र उपभोक्तासँग छलफल गरेर निष्कर्ष निकाल्ने बताएका छन् । 

प्रतिकृया दिनुहोस