• बिहीबार ७-२९-२०८१/Thursday 11-14-2024
  • 10:25:06
  • ON AIR
  • UP NEXT

सेती नदिमा फूल तार्ने तयारी

दुलेगौंडा, २६ कार्तिक । 
हरिबोधनी एकादशी (तुलसीको विवाह ) को अवसरमा आगामी बधुवार शुक्लागण्डकीका विभिन्न क्षेत्रमा सेती नदिमा फूल तार्ने तयारी गरिएको छ । वडा नं. ४ र ८ को पुल्चोक, वडा नं.७ को दोभान लगायतका क्षेत्रमा फूल तार्नकोलागि स्थानीयहरुले फूल संकलन र माला उनेर तयारी गरेका हुन् । शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्लागण्डकीले पुल्चोक क्षेत्रमा विशेष तयारी गरिरहेको छ । संस्थाका अध्यक्ष परशुराम भण्डारीले धार्मिक अनुष्ठान सहित फूल(तोरन) तारेर प्रत्येक वर्ष उत्सवको रूपमा मनाइने ऐतिहासिक  एकादशी मेलामा भव्य र सभ्य रूपमा उपस्थित भइ आध्यात्मिक शक्तिको उच्चतम उपयोग गर्न आग्रह गरेका छन् । उनका अनुसार मेलास्थलको सरसफाई गरिनुकासाथै सुरक्षाको प्रबन्धको विषयमा छलफल भइसकेको छ । भण्डारीले यसपटक विभिन्न ४ स्थानबाट फूल तारिने जानकारीमा आएको बताए । उनका अनुसार सुरक्षालाई ध्यान दिदै झलुङ्गे पुलको प्रयोगलाई मेलाका दिनमा आवातजावतमा रोक लगाइने छ । धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई व्यवस्थित गर्दै लैजानुपर्नेमा शुक्लागण्डकी–८ का अध्यक्ष नारायणसिं थापाले जोड दिए । एकादशीको अवसरमा शुक्लागण्डकी–४ र ८ पुल्चोक क्षेत्रमा स्वतस्फूर्त एकादशी मेला लाग्ने गर्दछ । साथै सेती नदीमा स्नान र फूल तार्नेहरुको भिड लाग्ने गर्दछ । भक्तजनहरु तनहुँको शुक्लागण्डकी, स्याङजाको पुतलीबजार, हरिनाश, बिरुवा लगायत क्षेत्रबाट पुल्चोकमा आउने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीसँग भगवान् दामोदर ’विष्णु’ को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा निदाएका विष्णु एकादशिका दिन ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।  हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता मांगलिक कार्य नगरिने परम्परा छ । ठूलो एकादशीको अवसरमा शुक्लागण्डकी नगरपालिकाले स्थानीय विदा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस