• मंगलबार ६-१-२०८१/Tuesday 09-17-2024
  • 02:01:12
  • ON AIR
  • UP NEXTGyan Amrit

शुक्लागण्डकी नपालाई पूर्ण खोप पालिका घोषणा

दुलेगौंडा, २९ जेठ । शुक्लागण्डकी नगरपालिकालाइ पूर्ण खोप पालिका घोषणा गरिएको छ । पालिका खोप समन्वय समिति शुक्लागण्डकीले सोमवार नगरपालिकामा आयोजना गरेका कार्यक्रममा जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागितामा पूर्ण खोप सुनिश्चितता कार्यक्रम गरिएको हो । 

नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका लक्षित ६ सय ६२ जनालाई खोप लगाइएपछि सो घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख डिवी थापाले जानकारी दिए । उनका अनुसार २२ जना बच्चाहरुलाई खोजेर ल्याएर खोप लगाइएको थियो । सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकर बाबु अधिकारीले नगर प्रमुख कृष्णराज पण्डितलाई पूर्ण खोपपालिका घोषणाको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा नगर प्रमुख पण्डितले खोप सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले।खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख खुम बहादुर विक राजु, जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख अधिकारी, नेपाली काङग्रेस शुक्लागण्डकी नगर कार्यसमितिका उपसभापति कृष्णप्रसाद रेग्मी, नेकपा एमाले शुक्लागण्डकीका कार्यबाहक अध्यक्ष रघुनाथ पौडेल, नेकपा माओवादी केन्द्र शुक्लागण्डकीका उपाध्यक्ष रामचन्द्र भण्डारी, नेकपा एस शुक्लागण्डकीका अध्यक्ष राम बहादुर क्षेत्री, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल लगायतले बोलेका थिए । शुक्लागण्डकीमा अस्पताल १, आधारभूत स्वास्थ्य सेवा केन्द्र ६, स्वास्थ्य चौकी ६ र शहरी स्वास्थ्य केन्द्र ७ वटा रहेका छन् । स्वास्थ्य शाखामा कुल ७३ जना कर्मचारी कार्यरत छन् । नगरमा ५८ जना महिला स्वास्थ्यस्वयमसेविक रहेका छन् ।

प्रतिकृया दिनुहोस