• सोमबार ४-११-२०८३/Monday 07-27-2026
  • 03:47:02
  • ON AIR
  • UP NEXTBhakti Darshan

कार्यसम्पादन मुल्यांकन प्रणालीलाई स्थानीय तहले शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेः मन्त्री न्यौपाने

काठमाडौं । भदौ ६

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय तहको कार्यसम्पादन मुल्यांकन प्रणालीलाई स्थानीय तहहरुले शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ । मन्त्रालयमा शुक्रबार आयोजित आ।व। २०८०र०८१ को स्थानीय तहको सस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको नतिजा सार्वजनिक तथा स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ कार्यक्रममा मन्त्री न्यौपानेले स्थानीय शासन कार्यसम्पादन मुल्याङ्कन प्रणालीलाई सबै गाउँपालिका र नगरपालिकाले प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याई शासकीय अभ्यासको उच्चतम प्रयोग गर्नेमा समेत विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री न्यौपानेले गुणस्तर परीक्षणको नतिजामा उत्कृष्ट स्थान हासिल गर्ने नगरपालिका र गाउँपालिकालाई बधाई तथा धन्यवाद व्यक्त गर्दै मन्त्री न्यौपानेले गाउँपालिका र नगरपालिकाले संस्थागत क्षमता स्वमूल्याङ्कन मार्फत शासकीय अभ्यासमा देखाएको अग्रसरताले सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र सुशासनमा टेवा पुगेको बताउनु  भयो । उहाँले भन्नुभयो ‘आज शुभारम्भ भएको नयाँ प्रणालीले गाउँपालिका र नगरपालिकाको शासकीय अभ्यासलाई थप उचाइमा पु¥याई नागरिकको सन्तुष्टि हासिल गर्ने विश्वास लिएको छु ।’ 
कार्यक्रममा मन्त्री न्यौपानेले मुलुकको विकासका लागि तीन तहको सरकारले आफ्नो गति बढाउनुपर्ने बताउनु भयो । सेवा प्रवाहका सवालमा स्थानीय तहहरूले अझै धेरै काम गर्न जरुरी रहेको भन्दै उहाँले संविधानतः संघीय सरकारले राष्ट्रिय गौरवका आयोजनाहरूलाई अगाडि बढाउने, प्रदेश सरकारले विकास निर्माणका कामलाई ध्यान दिने र स्थानीय तहले सेवा प्रवाहमा ध्यान दिनुपर्ने बनाउनुभयो । तीन तहको सरकारबीच आपसि सहकार्य र समन्वय गरेर अगाडि बढ्न सकेमात्र मुलुक र जनताको अवस्था परिवर्तन गर्न सकिने मन्त्री न्यौपानेको भनाई थियो । 
‘अब हामी हिँडेर मात्र पनि पुग्दैन । हाम्रो गतिलाई अगाडि बढाउनुपर्नेछ । यदि हामीले देशको विकास गर्ने हो भने हाम्रो आफ्नो गति पनि बदल्नुपर्नेछ । हामी दौडिनुपर्नेछ ।’ मन्त्री न्यौपानेले भन्नुभयो ‘जनप्रतिनिधिहरू पनि त्यसैअनुसार लाग्नुपर्नेछ र स्थानीय तहहरूले अझै धेरै ध्यान दिनुपर्नेछ । त्यसैले मन्त्रालयमा कार्यसम्पादन मूल्याङ्कन प्रणालीको विकास गरेको हो ।’
उक्त कार्यक्रममा मन्त्रालयका सचिव रविलाल पन्थले नागरिकको नजिकमा रहि राज्यको शासकीय इकाईको रुपमा अभ्यास गरिरहेका स्थानीय तहले संस्थागत क्षमताको स्वमूल्याङ्कन गरी प्राप्त नतिजालाई वस्तुनिष्ठ बनाउँदै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीमार्फत थप सुधार र परिस्कृत हुन सहयोग पुग्ने बताउनु भयो । उहाँले स्वमूल्याङ्कन प्रकृयामा सहभागी सम्पूर्ण गाउँपालिका र नगरपालिकालाई धन्यवाद दिदै गुणस्तर परिक्षणमा उत्कृष्ट स्थान हासिल गर्ने गाउँपालिका र नगरपालिकालाई बधाई व्यक्त गर्नुभयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार विशेष कार्यकमको आयोजना गरी आ।व २०८०र०८१ को स्थानीय तहको सस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको नतिजा सार्वजनिक गर्दै उत्कृष्ट हुने स्थानीय तहलाई सम्मान गरेको थियो । सम्मानित हुने स्थानीय तहहरुमा नगरपालिकाहरु मध्ये क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका नीलकण्ठ नगरपालिका धादिङ, खैरहनी नगरपालिका चितवन र तिलोत्तमा नगरपालिका रुपन्देही, एवं गाउँपालिकाहरु मध्ये कमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका, गुल्मीको रुरुक्षेत्र गाउँपालिका र स्याङजाको अर्जुनचौपारी गाउँपालिका रहेका छन् । ति स्थानीय तहलाई मन्त्री न्यौपानेले प्रशंसा पत्र सहित सम्मान गर्नुभएको थियो । 
यसैअवसरमा मन्त्रायले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ समेत गरेको छ । स्थानीय तहको सस्थागत क्षमता स्वमूल्यान आ।व। २०७६र०७७ बाट शुरु गरिएको भएतापनि मन्त्रालयले गुणस्तर परीक्षण गरी नतिजा प्रनिवेदन सार्वजनिक गरेको यो दोस्रोपटक हो । मन्त्रालयले विगतमा कार्यन्वयनमा रहेका स्थानीय तह सस्थागत क्षमता स्वमूल्याङ्कन प्रणाली, स्थानीय तह आर्थिक सुशासन जोखिम मूल्याङ्कन प्रणाली र स्थानीय आर्थिक विकास मूल्याङ्कन प्रणालीलाई एकिकरण गरी आ।ब।२०८२र०८३ देखि स्थानीय शामन कार्यसम्पादन मूल्याङ्कन प्रणाली कार्यन्वयनमा ल्याएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव एवं संघीय मामिला महाशाखा प्रमुख प्रकाश दाहालले कार्यकमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । यसै गरी मन्त्रालयका उपसचिव एवं स्थानीय तह समन्वय शाखा प्रमुख रेशम कडेंलले नतिजा प्रतिवेदन र नयाँ प्रणालीको सार संक्षेप प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा उच्चतम अंक प्राप्त गरी प्रथम स्थान हासिल गर्ने गाउँपालिका र नगरपालिकाले स्वमूल्याङ्कनको विषयमा आ–आफ्ना अनुभव तथा सिकाइहरु आदान प्रदान गरेका थिए । 
उक्त कार्यक्रममा काठमाडौं उपत्यका भित्रका नगरप्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । त्यसैगरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विषयगत मन्त्रालयहरु, राष्ट्रिय योजना आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट प्रतिनिधित्व रहेको कार्यकममा मन्त्रालयका सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । 
हालको कार्यविधिअनुसार विभिन्न दश वटा शीर्षकमा मूल्यांकन गर्छन् । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वयमा पालिकाले आफ्नै संस्थागत क्षमताको स्वमूल्यांकन गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूको पहिचान गर्न सरकारले यो प्रणाली विकास गरेको हो ।

प्रतिकृया दिनुहोस