शुक्लागण्डकीमा उपचार शिविरमा ५ सय ३३ महिला लाभान्वित
दुलेगौंडा, ३० कार्तिक । शुक्लागण्डकीमा स्त्रीरोग सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार शिविरमा ५ सय ३३ महिला लाभान्वित भएका छन् । यसमध्य करिव ४८ प्रतिशत महिलामा पाठेघर सम्बन्धी समस्या रहेको पाइएको छ ।
शुक्लागण्डकी नगरपालिका र स्वदेशी नेपाल गोरखाको आयोजना र वेमन फर वेमन फाउण्डेसन नेदरल्याण्डस् र वाइल्डे गन्जेन फाउण्डेसनको सहयोगमा भएको शिविर विहिवार सम्पन्न भएको हो । सो शिविर विभिन्न वडाहरुमा भएको थियो । शिविरमा महिलाहरुको पाठेघर खसेको, पिसाबनलि खसेको र दिशानलि खसेको समस्याको परिक्षण र उपचार गरिएको छ ।
परिक्षणका क्रममा ८ जनालाई बनेपा अस्पतालमा लगेर शल्यक्रिया सहित उपचार गर्नुपर्ने, ३८ जनामा रिङ्ग राख्नुपर्ने र अन्य २१५ जनालाई औषधी र ब्यायामबाट निको पार्न सकिने अवस्था पहिचान भएको स्वदेसी नेपालका संस्थापक अध्यक्ष भेष बहादुर खड्काले जानकारी दिए । उनीहरुलाई मंसिरको पहिलो हप्ता बनेपा अस्पतालमा लगेर शल्यक्रिया र औषधी निशुल्क रुपमा उपलब्ध गराइने छ । उनले शिविरमा आएकामध्य करिव ४८ प्रतिशत महिलामा पाठेघर सम्बन्धी कुनै न कुनै समस्या रहेको पाइएको छ ।
शिविरमा नेदरल्याण्डका विभिन्न अस्पतालहरुमा कार्यरत फाउण्डेसनकी संस्थापक समेत रहेकी स्त्री रोग विशेषज्ञहरु डा। लुस, र डा। एनालिस तथा नेपालका स्त्री रोग विशेषज्ञ डा। निमा शर्मा र डा। अनिता पौडेलद्धारा महिलाहरुको प्रजनन समस्याको पहिचान गर्नुका साथै उपचार गराइएको फाउण्डेशनका नेपाल प्रतिनिधि विश्वनाथ पौडेलले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ढालबहादुर थापाले शिविर महिला स्वास्थ्यको क्षेत्रमा प्रभावकारी भएको दावि गर्दै महिला स्वास्थ्यप्रतिको सचेतना जगाउन समेत महत्वपूर्ण भएको बताए । उनले शिविरमा आएर गम्भिर समस्या देखिएका महिलाहरुको न्यून आर्थिक अवस्थाका साथै जिम्मेवारी लिने सदस्य समेत नभएकाले उपचारमा समस्या देखिएको जानकारी दिए । यसअघि महिलाको आङ खस्ने पाठेघर खस्ने समस्याबारे सरोकारवालाई तालिम समेत प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस