• सोमबार ७-१०-२०८३/Monday 10-26-2026
  • 03:12:11
  • ON AIR Nepal Khabar
  • UP NEXTBollyhood Express

दुईतिहाईको दम्भ देखाएर कानुन भन्दा माथि जान खोजे चुप लागेर बस्दैनौं–काङग्रेस महामन्त्री पौडेल

दुलेगौंडा, ८ कार्तिक । नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री प्रदिप पौडेलले सरकारले दुईतिहाईको दम्भ देखाएर लोकतन्त्र समाप्त गर्ने बाटोमा गए चुप लागेर नबस्ने चेतावनी दिएका छन् । 
नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर कार्य समितिले चाडपर्वको अवसरमा आइतवार दुलेगौंडामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् । 
सरकारले राम्रो गर्दा खुलेर समथर्न गर्नेछौं, उनले भने, दुई तिहईको दम्भ देखाएर कानुन भन्दा माथि र लोकतन्त्र समाप्त गर्ने बाटोमा गए काङग्रेस चुप लागेर बस्दैन । पूर्व मन्त्री समेत रहेका उनले ३ वर्षअघि स्थापित भएको पार्टीले ठूलो समर्थन पाएर नेतृत्व गरिरहेको बताउदै प्रतिवद्धता गरेका विषयलाई नबिर्सन अपिल गरे । 
उनले १५ औं महाधिवेशनमा सबैलाई समावेश गराउने प्रयास गरेको बताउदै केहि साथीहरु बाहिर रहेको उल्लेख गर्दै एकै ठाउँमा आउन आग्रह गरे । नविकरण गरेका सबैलाई भाग लिने र  देउवा नेतृत्वको कार्यसमितिलाई स्वत प्रतिनिधी बनाउने देखि सबै प्रयास गरिएको उनले प्रष्ट पारे ।  
विशेष महाधिवेशन विधि विपरित थियो भने नियमित महाधिवेशनमा आएर विमति राख्नुपर्नेमा नेता पौडेलले जोड दिए । महाधिवेशनपछि ब्यापक एकता भएको छ, उनले अगाडी भने, हिजो जिम्मेवारी, संघर्ष गरेर पार्टीलाई यहाँसम्म ल्याउनुभयो ।  अग्रजलाई अपमान गर्ने कुनै मनशाय थिएन । नेता पौडेलले प्रमुख अतिथीको कुर्सी राखेर महाधिवेशन उद्घाटन गरिएकोे स्मरण गरे । काङग्रेसको जिम्मेवारी यहि विषयमामात्र अल्झेर बस्ने नभई जनता र जनजिविकाका विषय पनि रहेको उनको भनाई थियो । 
नेपाली काङ्ग्रेस शुक्लागण्डकी नगर कार्य समिति सभापति कृष्ण प्रसाद रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य दिपक भट्टराई, तनहुँ जिल्ला निवर्तमान सभापति एवम् व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, जिल्लाका वर्तमान उपसभापति एवम् ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महत, नेपाली काङग्रेसका निवर्तमान केन्द्रिय सदस्य ध्रुव वाग्ले, कृष्ण केसी, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकीका सहमहामन्त्री शंकर पन्त, नेकपा एमाले गण्डकी प्रदेश सदस्य कमल ढकाल, नेकपाका शुक्लागण्डकी संयोजक शरण सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल शुक्लागण्डकीका अध्यक्ष ऋषेश्वर भुवाई ऋतु लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत नगर समिति उपसभापति रजनी थापा र सञ्चालन सचिव गणेश बहादुर ऐर र त्रिलोचन लम्सालले गरेका थिए । सो अवसरमा नवनिर्वाचित महामन्त्री पौडेललाई  नगर कार्यसमितिकोतर्फबाट सभापति रेग्मीले सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । 
राजनीतिक दलबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै चाडपर्वको खुसी साटासाट गर्न र सामाजिक सद्भाव कायम गर्न पहिलो पटक स्थानीय स्तरमा सो कार्यक्रम गरिएको हो ।  कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँगै अन्य राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी,सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो । सो कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिईने पार्टीले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस
↑