बेलचौतारा हाटबजारलाई दिगो रुपमा सञ्चालनकालागि उत्पादन बढाउनुपर्नेमा जोड
दुलेगौंडा, २९ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित साप्ताहिक हाटबजारलाई दिगो रुपमा सञ्चालनकालागि उत्पादन बढाउनुपर्नेमा जोड दिइएको छ । शुक्लागण्डकी नगरपालाकीले कृषि उपज संकलन तथा विक्री केन्द्रको सञ्चालनमा देखिएका समस्या, उपलब्धि र चुनौती विषयमा सरोकारवालासंग शुक्रवार गरेको छलफल र अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । कृषक देउनारायण श्रेष्ठले सिजन अनुसारका तरकारी समय अगावै उत्पादन गर्न सकिए उपभोक्ताको भिड हुने बताउदै नगरले प्रोत्साहन गर्नुपर्ने उल्लेख गरे । अर्का कृषक सुरेन्द्र वाग्लेले कृषि पेशा परिवार धान्न सुरक्षित नभएको गुनासो गर्दै प्राकृतिक प्रकोपदेखि विक्रि गर्दा उपभोक्तासम्म आइपुग्दा अनेकौं संघर्ष गर्नुपरेको दुःखेसो गरे । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका महासचिव सुजन श्रेष्ठले आवश्यक परे किसानलाई वर्गिकरण गरेर हाटबजारमा स्थान सुरक्षित पार्नुपर्ने धारणा राखे । शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायले हिउदमा तरकारी कमि हुन नदिन तत्काल प्रत्येक वडामा व्यवसायिक किसान तयार गरि उत्पादनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । पत्रकार विनोद ढुंगानाले सकेसम्म टोलटोलमा सहजिकरण समिति बनाएर उत्पादन गर्न सके हाटबजारमा उत्पादनको कमि नहुने उल्लेख गरे । खैरेनीटार महिला विकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष सुर्यकला भण्डारीले बैशाखबाट शुरु गरिएको आइतवारे हाटबजारसँगै दैनिक रुपमा किसानका उत्पादन खरिद गरि विक्रि हुदै आएको जानकारी दिए । शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले हाटबजारका कारण जनमानसमा सकरात्मक प्रभाव पारेको बताउदै यहाँसम्म आइपुग्दा सहयोग गर्ने पत्रकार, सहकारी र सरोकारवाला सबैलाई धन्यवाद दिए । नगर उपप्रमुख खुम बहादुर विक राजुले सञ्चालनका क्रममा आइपरेका समस्यालाई समाधान गर्दै नगर अगाडी बढ्ने जानकारी दिए । वडा नं. ३ का अध्यक्ष सचिन भुजेल, वडा नं. ४ का अध्यक्ष राजकुमार वाग्ले, वडा नं. १२ का अध्यक्ष इन्द्र गुरुङ, कृषि शाखा प्रमुख दिप कुमार उपाध्याय लगायतले बोलेका थिए । मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममार्फत कृषि क्षेत्रलाई व्यवस्थित व्यवसायिक र आत्मनिर्भर बनाउने दिर्घकालिन उदेश्यका साथ कृषि उत्पादन प्रोत्साहन तथा बजारीकरणको योजनासाथ खैरेनीटार महिला विकास बहुउदेश्यीय सहकारी संस्थासँगको साझेदारीमा केन्द्र सञ्चालनमा ल्याइएको हो । सहकारीले आइतवारबाहेक अन्यबार पनि सोहि कृषि उपज संकलन केन्द्रमा तरकारी विक्रि गर्दै आएको छ । हाटबजारको रुपमा प्रत्येक आइतवार १७ औं श्रृखंला सम्पन्न भएको छ ।









प्रतिकृया दिनुहोस