• बुधबार ४-२०-२०८३/Wednesday 08-05-2026
  • 04:28:53
  • ON AIR
  • UP NEXTBhakti Darshan

३२ औं विश्व आदिवासी दिवस शुक्लागण्डकीमा विविध कार्यक्रम गरि मनाईदै

दुलेगौंडा, १८ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीले ३२ औं विश्व आदिवासी दिवस– २०८३ (९ अगष्ट २०२६)  सप्ताहव्यापी रुपमा  मनाउने भएको छ ।  
खैरेनीटारमा  सोमवार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष कुलकुमार कुमालले साउन १९ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनका अनुसार साउन १९ गते एक्ले डाँडा क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण, साउन २० गते आदिवासी जनजातिको भाषा, कला र संस्कृतिको महत्व शीर्षकमा वक्तृत्वकला प्रतियोगिता, साउन २१ गते बेलचौतारामा महिला तथा युवा लक्षित बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको छ । यसैगरी साउन २२ गते बेलचौतारामा जनप्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया, साउन २३ गते मूल समारोहको पूर्वतयारी बैठक र साउन २४ गते नगरपालिका परिसरमा मुल समारोह कार्यक्रम गरिने छ । 
यस वर्ष ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता’ भन्ने मुल नाराका साथ दिवस मनाईदै छ । पत्रकार सम्मेलनमा समन्वय परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमालले आदिवासी जनजातिको संविधान र संघर्षबाट प्राप्त उपलब्धीको रक्षाकालागि यस पटकको नारा केन्द्रित रहेको प्रष्ट पारे । 
नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका सचिव विमल भुजेलले यस क्षेत्रका जातीय संगठनहरूको सांस्कृतिक झाँकी, कला–संस्कृति प्रदर्शन तथा मौलिक रैथाने खानाका परिकारहरूलाई दिवसमा समावेश गरिएको जानकारी दिए । 
आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान ऐन २०५८ अनुसार सुचिकृत ६० जाति मध्ये शुक्लागण्डकी नगरपालिकामा ८ जाति आदिवासी जनजातिहरु मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । शुक्लागण्डकीमा कुल जनसंख्याको ४८ प्रतिशत आदिवासी जनजातिको छ । 
समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमालको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका उपाध्यक्ष सुरेन्द्र तामाङले स्वागत र सचिव विर्सना श्रेष्ठले सञ्चालन गरेकी थिइन् । 
 

प्रतिकृया दिनुहोस