• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 10:23:33
  • ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशन शुरु, मतदान आइतवार विहान ८ बजेबाट

दुलेगौंडा, ३ कार्तिक । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा एवम् दोस्रो अधिवेशन शुरु भएको छ । अधिवेशनको शनिवार शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरे । सो अवसरमा बोल्दै नगर प्रमुख पण्डितले शिशु अवस्थामा रहेको उद्योग वाणिज्य संघलाई सर्वसम्मत बनाएर लैजानुपर्नेमा जोड दिए । नगर उपप्रमुख खुम बहादुर विक राजुले नगरपालिका र उद्योग वाणिज्य संघ एक आपसमा सहकार्य गरि अघि बढ्नुपर्ने उल्लेख गरे । 
संस्थापक अध्यक्षहरु बसन्त ज्वारचन र हरिकुमार श्रेष्ठले संस्था भित्र देखिएको समस्याले आफुहरुमा चिन्ता थपिएको गुनासो गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गण्डकी प्रदेशभरी रहेका उद्योगीहरुले संस्थागत रुपमा एकबद्ध भएर औधोगिक विकास गर्न प्रदेश सरकारलाई दवाव सिर्जना गर्नुपर्नेमा जोड दिए । 
न्गर उद्योग वाणिज्य संघका अध्यक्ष विमल प्रसाद रिमालले व्यवसायिक वातावरणकालागि सबैको सहयोग आवश्यक पर्ने उल्लेख गरे । कार्यक्रममा ब्यवसायी हरि खड्का, बरिष्ठ उपाध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्र तिमिल्सेनाले गरेका थिए ।
अधिवेशनमा अध्यक्षमा समुन्द्रराम श्रेष्ठ र सुजित हिराचनले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । काङग्रेस र माओवादी निकट व्यवसायीहरुको गठबन्धन गरि श्रेष्ठले उम्मेदवारी दिएका हुन् भने एमाले निकट व्यवसायीबाट हिराचनले उम्मेदवारी दिएका हुन् । श्रेष्ठको नेतृत्वतर्फ बरिष्ठ उपाध्यक्षमा सुमन सापकोटा, वाणिज्य उपाध्यक्षमा प्रकाश थापा र उद्योग उपाध्यक्षमा देवेन्द्र बहादुर ढुंगाना, महासचिवमा पूर्ण बहादुर कायस्थ,उपमहासचिवमा मित्रबन्धु पौडेल र कोषाध्यक्षमा रजनी थापाले उम्मेदवारी दिएका छन् । यसैगरी हिराचनको टिमबाट बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा आनन्द सुन्दर श्रेष्ठ, उद्योग उपाध्यक्षमा प्रेम बहादुर श्रेष्ठ, महासचिवमा सुजन श्रेष्ठ, उपमहासचिवमा विर्सना श्रेष्ठ र कोषाध्यक्षमा कमल गैह्रेले उम्मेदवारी दिएका छन् ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघमा कुल ८ सय ४२ मतदाता छन् । करिव तीन वर्षसम्म शुक्लागण्डकीमा दुई नगरस्तरीय उद्योग वाणिज्य संघ अस्तित्वमा रहेकोमा २०७८ चैतको दोस्रो साता एक भएका थिए । संस्थाका वशन्त ज्वारचन र हरि कुमार श्रेष्ठ संस्थापक अध्यक्ष हुन् । नगर उद्योग वाणिज्य संघ एक भएपछि भएको भेलाले विमल प्रसाद रिमालको नेतृत्वमा नयाँ समिति चयन गरेको थियो ।

प्रतिकृया दिनुहोस