• बुधबार ७-७-२०८१/Wednesday 10-23-2024
  • 03:40:47
  • ON AIR
  • UP NEXTBhakti Darshan

पञ्चमुनिदेव माविमा रुम टु रिडको बालिका शिक्षा कार्यक्रमको अनुगमन 

दुलेगौंडा, ५ असार । रुम टु रिड जिल्ला कार्यालय तनहुँले सञ्चालन गरेको बालिका शिक्षा कार्यक्रमको सरोकारवालाले अनुगमन गरेका छन् । 


बुधवार सो कार्यक्रम सञ्चालन भएको शुक्लागण्डकी–४, दुलेगौंडास्थित पञ्चमुनिदेव माविमा कक्षा अवलोकन, बालिकाले सिकेका सिकाई, सुझाव संकलनकासाथै अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो । बरिष्ठ सामाजिक परिचालक अम्विका ओझाले मुटु देखि मुटुसम्मको  शिर्षकमा प्रस्तुतीकरण राखेकी थिइन् । रुम टु रिडले गएको शैक्षिक शत्रदेखि शुक्लागण्डकीका ५ विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने बालिकालाई केन्द्रित गर्दै बालिका शिक्षा कार्यक्रम शुरु गरेको होे । 


सो अवसरमा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव नवराज चापागाईले बालिकालाई प्रदान गरिएको जीवन उपयोगी शिक्षा प्रभावकारी भएको पाएको बताए । हाम्रो पालामा यस्ता शिक्षा प्राप्त गर्न सकेनौं, अहिले यस विद्यालय र सहभागि बालिकाले अवसर पाएका छन, उनले थपे, सबै बालिकालाई दिन सके उनीहरुले जीवनमा आउने कठिन परिस्थितिसँग सामाना गर्न सक्नेछन् । शिक्षा शाखाका अधिकृत शुशिल नरालले आफ्ना दुई छोरीहरुले पनि बालिका शिक्षा कार्यक्रममा सहभागी भएको बताउदै जीवनलाई व्यवहारिक र हरेक कठिनाईमा समेत सहज बनाएको आफुले पाएको सुनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठ र प्रधानाध्यापक ध्रुव कुमार मल्लले एक वर्षको अनुभवले सबै बालिकालाई यस्ता कार्यक्रमको आवश्यकता खड्किएको बताए । हाल कक्षा ७ मा अध्ययनरत सहभागी बालिकाहरुले कक्षा ६ मा पढेका विषय सुनाउनुका साथै अनुगमनमा पुगेका अतिथीहरुसँग अन्तरक्रिया समेत गरेका थिए ।  

कार्यक्रममा नेपाल पुलिस स्कुलका समादेशक दिपक पातली, प्रिन्सीपल दिलबहादुर, सामाजिक परिचालकहरु सुनिता श्रेष्ठ, अनिता भण्डारी र नर्बदा ढकाल, पन्चमुनिदेव माविकी कार्यक्रम फोकल शिक्षक शारदा बराल देवकोटा लगायतले आफ्नो अनुभव सुनाएका थिए । बालिका शिक्षा कार्यक्रममा सहभागी भएपछि निर्धक्कका साथ बोल्नुका साथै रीस व्यवस्थापन, समानुभूतिपूर्ण संवाद गर्ने, समस्या समाधान, सहि निर्णय गर्न सक्ने लगायतका क्षमतामा परिवर्तन देखिन थालेको रुम टु रिड जिल्ला कार्यालय तनहुँका कार्यक्रम अधिकृत नित्याानन्द पाण्डेले बताए । कक्षा ६ मा पढ्ने बालिकाहरुका लागी सञ्चालन गरिएको बालिका शिक्षा कार्यक्रम कक्षा १२ सम्म निरन्तरता दिइने छ । 

बालिकालाई माध्यमिक शिक्षा पूरा गर्न सहयोग तथा जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गरिएको रुम टु रिड जिल्ला कार्यालय तनहुँका प्रमुख दिनेश पोख्रेलले जानकारी दिए ।  उनका अनुसार गएको वर्षमा जीवन उपयोगी सिप तालिम १६ वटा, समुह मेन्टोरिङ ७ वटा र अभिभावक कार्यशाला २ वटा सम्पन्न भएका छन् । बालिका शिक्षा कार्यक्रमको ‘ए’ तहमा परेका बालिकाले विद्यालयलाई बुझाउनुपर्ने शुल्क, कपि र कलम निशुल्क रुपमा पाउनेछन् ।

सो कार्यक्रमबाट पञ्चमुनिदेव माविसँगै वडा नं. ५ मा रहेको जनकल्याण मावि, वडा नं. ६ मा रहेको खैरेनी मावि, वडा नं. ८ मा रहेको गाऊँफर्कोदय मावि र वडा नं. ९ मा रहेको तालवेशी माविमा हाल कक्षा ७ मा अध्ययनरत २ सय ३८ बालिकाहरु लाभान्वित भइरहेको पाण्डेले जानकारी दिए । उनका अनुसार तनहुँमा भिमाद, भानु, व्यास, बन्दिपुर, रिसिङ, म्याग्देमापनि बालिका शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । हाल कक्षा ६ मा कुल २ सय २ बालिका समावेश छन् ।  तनहुँका ५ विद्यालयमा शिक्षकहरुमार्फत जीवन उपयोगी सीप शिक्षा शिक्षक निर्देशित मोडलबाट समेत सञ्चालन गरिएको छ । 

प्रतिकृया दिनुहोस