अभिभावक सचेतना कार्यक्रम सम्पन्न
दुलेगौंडा, ७ मंसिर । तनहुँको शुक्लागण्डकी–३ कवासेमा रहेको सहिद कृष्ण माविमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सेवा संस्कार मिडिया प्रालिको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नं.३ कार्यालयको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । सो अवसरमा शुक्लागण्डकी नगरपालिका–३ का वडा अध्यक्ष सचिन भुजेलले छोराछोरीको उज्ज्वल भविष्य निर्माणका लागि अभिभावकहरूलाई सचेत गराउन यस कार्यक्रम सञ्चालन गरिएको बताए । शुक्लागण्डकी नगरपालिकाका शिक्षा अधिकृत एवम् विद्यालय निरिक्षक सुशील नरालले विद्यार्थीको सिकाइ क्षमता वृद्धि गर्न अभिभावकको भुमिका महत्त्वपूर्ण हुने बताए । घरबाटै बालबच्चालाई असल भावनाको विकास गराउनुका साथै बालकमा नेतृत्व क्षमता वृद्धि गर्न पनि अभिभावक शिक्षित हुन आवश्यक रहेको बताए । वडाध्यक्ष भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष परर्शुराम शर्मा भण्डारी, विद्यालयका प्रधानाध्यापक राजन प्रसाद खनालले बोलेका थिए । कार्यक्रममा आचार्य लक्ष्मण भण्डारी र सीता गिरीले सहजिकरण गरेका थिए ।
प्रतिकृया दिनुहोस