गाछेपानीमा शिव महिमा बोलबम धार्मिक महोत्सव शुरु, भएकै अस्पताललाई व्यवस्थित गर्न लागेको छुः मन्त्री पौडेल
दुलेगौंडा, २१ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा सोमवारदेखि शिव महिमा बोलबम धार्मिक महोत्सव शुरु भएको छ । महोत्सवको नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले उद्घाटन गरे ।
सो अवसरमा मन्त्री पौडेलले शारिरिक भन्दा मानसिक रोगका विरामी बढ्दै गएको बताउदै धर्ममा लाग्ने व्यक्तिहरु मानसिक रुपमा स्वस्थ्व रहने बताए । धार्मिक संस्कृतिलाई जोगाउन सकिएमा मानसिक रोगबाट कम गराउन सकिने उनको भनाई थियो । उनले स्वास्थ्यसँग निर्माण भएका संरचनाले नागरिकलाई सन्तुष्टि दिन नसकेको बताए । पर्याप्त अस्पताल भएपनि पूर्वाधार र जनशक्तिका कारण पर्याप्त सुविधान दिन नसकिएको बताए । अब अस्पताल थप गर्नुभन्दा भएका अस्पताललाई सुविधा थप्दै जाने उनले प्रष्ट पारे । पूर्व मन्त्री आशा कोइरालाले जन्मभूमिमा रहेका अस्पताललाई विशेष चासो दिएर आएका समस्या समाधानमा लाग्न आग्रह गरिन् । प्रदेश सभा सदस्य श्यामराजा महतले खर्चिला रोगका कारण नागरिक उपचार गर्न समस्यामा परेको बताउदै प्रदेशसभामा आफूले आवाज उठाईरहेको उल्लेख गर्दै संघबाट पनि यसलाई सम्बोधन गर्न मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।
महोत्सव मुल संयोजक नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कथावाचक पण्डित बालकृष्ण अर्याल, शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित लगायतले बोलेका थिए । महोत्सवमा माधुर्य कथावाचक पण्डित बालकृष्ण अर्यालबाट संगीतमय प्रवचन हुने छ । महोत्सव शुरु हुनुपूर्व विहान १० बजे नगरपालिका गेटबाट बोल बम यात्रासहित कल यात्रा निकालिएको थियो । दैनिक हवन, रुद्री, पाठ परायणसहित संगितमय कथा प्रवचन, पितृ संकल्प, ग्रहशान्ती, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको छ ।
महोत्सवबाट बचेको रकमले च्यवनधामसँगै वडा नं. ९ स्थित गौं संरक्षण केन्द्रको एकिकृत विकासको लागि खर्चिने अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । धामले प्रत्येक वर्ष श्रावण महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सव साउन २८ गते सकिने छ ।
प्रतिकृया दिनुहोस