फरक अनुभुति हुने गरि गण्डकी विश्वविद्यालय सञ्चालन गर्न सहभागीको सुझाव
दुलेगौंडा, १९ साउन ।
स्थापनाको पाँच वर्षपछि गण्डकी विश्वविद्यालयले छिेमकी पालिकामा समुदायसँग साझेदारीकालागि अन्तरक्रिया कार्यक्रम गरेको छ । विश्वविद्यालयले शनिवार शुक्लागण्डकी नगरपालिकाको समुदायसँग साँझेदारी तथा अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री आशा कोइरालाले अन्य भन्दा फरक ढंगले गण्डकी विश्वविद्यालयको ऐन बनाएका भएपनि फरक अनुभूति बाहिर आउन नसकेको बताइन् । गण्डकी प्रदेश सभाका पूर्व सदस्य समेत रहेकी कोइरालाले व्यवहारिक र प्रभावकारी ढंगले काम गर्नुपर्नेमा जोड दिईन् । उपकुलपति प्राडा नवराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुम बहादुर विक राजुले कान्छो विश्वविद्यालयले शैक्षिक प्रणालीलाई परिवर्तन गरी जान सुझाव दिए ।
सहभागी डा. शेषरमण न्यौपाने, वडा नं. ५ का अध्यक्ष दिर्घ बहादुर थापा, वडा नं. ६ का अध्यक्ष बुद्धि बहादुर थापा, समाजसेवी महेश्वर भट्टराई, व्यवसायी हरि कुमार श्रेष्ठ, ज्ञान बगैचा इङ्लीस बोर्डिङ स्कुलका प्रिन्सीपल सुरेश पौडेल लगायतले विश्वविद्यालय शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो मात्र नभई स्वरोजगारका साथै वैदेशिक अध्ययनकालागि हिड्ने युवायुवतीलाई पनि रोक्न सक्ने खालको बन्नुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उपप्राध्यापक लिलाराज लोहनी र सुरेश ढकालले कार्यक्रममा सहजिकरण गरेका थिए ।
वि.स. २०७६ सालमा स्थापना भएको विश्वविद्यालयले दुई वर्षपछि मात्र अध्यापन शुरु गरेको थियो । नेपालमै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘ब्याचलर्स इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) र ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी (बीआइटी) विषयको पढाइ सुरु गरेको विश्वविद्यालयले हाल ‘ब्याचलर्स अफ फार्मेसी’ (बि–फर्मा), ब्याचलर्स अफ बीजनेश एडमिनेस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आटर्स एण्ड ब्याचलर्स अफ लिगेस्लेटिभ ल (बीएएलएलबी) पनि अध्यापन भइरहेको छ । डिन डा.कपिल अधिकारीले दक्षिण एसियाकौ नमुना विश्वविद्यालय बनाउने दिशातर्फ अगाडी बढेको उल्ले गरे । पठनपाठन र अनुसन्धानमा केन्द्ति विश्वविद्यालयले पोखरा–३२ मा आफ्नै संरचना खडा गरेको छ । विश्वविद्यालयले आविष्कार केन्द्रको समेत स्थापना गरेको छ । गण्डकी विश्वविद्यालयमा ५२ जिल्लाका विद्यार्थीको आबद्धता रहेको डिन डा.कपिल अधिकारीले उल्लेख गरे । विश्वविद्यालयको नाममा अहिले ५७६ रोपनी जग्गा छ ।
प्रतिकृया दिनुहोस