• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024
  • 06:09:01
  • ON AIR Kayakairan
  • UP NEXTNepali Bahas

सूर्य नेपालद्धारा खैरेनी माविलाई आइसीटी सामग्री प्रदान

दुलेगौंडा, ९ साउन । सूर्य नेपाल प्रालिले तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारमा अवस्थित खैरेनी माध्यमिक विद्यालयलाई  करिव १३ लाख रुपैयाको आइसीटी सामग्री प्रदान गरेको छ ।

बुधवार एक कार्यक्रमकाबीच उद्योगका कारखाना व्यवस्थापक बाबुराम कार्की र मानव संसाधन प्रमुख अन्जान दुवाडीले विद्यालयका अध्यक्ष कमलमोहन घिमिरे र प्रधानाध्यापक राजेश्वर घिमिरेलाई हस्तान्तरण गरेका हुन् । प्रालिले विद्यार्थीको पढाईलाई प्रभावकारी र प्रविधिमैत्री बनाउन ८ थान कम्प्युटर, ४ थान ल्यापटप, २ थान इन्ट्रयाक्टीभ स्मार्ट बोर्ड र एक थान कलर प्रिन्टर प्रदान गरेको हो । प्राप्त कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड लागतयका आइसीटी सामग्रीले प्रविधिमैत्री अध्ययनमा टेवा पुग्ने वडा नंं ६ का अध्यक्ष बुद्धि बहादुर थापाले बताए । कारखाना व्यवस्थापक बाबुराम कार्कीले प्राप्त सामनको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।  

मानव संसाधन प्रमुख दुवाडीले विद्यालयले सहयोगकोलागि गरेको आग्रह अनुसार ती सामग्री प्रदान गरिएको जानकारी दिए । विद्यालयका पूर्व प्रधानाध्यापक एवम् नगर शिक्षा समिति संयोजक केशव घिमिरेले आइसीटी सामग्रीको प्रयोगमा खैरेनी मावि विगत लामो समयदेखि अगाडी रहेको बताउदै कोभिडको समयमा समेत शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिइको जानकारी दिए । उनले प्राप्त सामानले थप सहयोग पुगेको उल्लेख गरे । शिक्षक अभिभावक संघका अध्यक्ष शेषकान्त पौडेलले विद्यार्थीको सिकाई भरपुर रुपमा उपयोग गर्न आग्रह गरे ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलमोहन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत विद्यालय व्यवस्थापन समिति सदस्य एवम् कार्यपालिका सदस्य विमल जिसीले र सञ्चालन प्रधानाध्यापक राजेश्वर घिमिरेले गरेका थिए ।

सूर्य नेपाल प्रालिले केहिदिनअघि वडा नं. ७ को सरस्वती नमुना माविलाई पनि करिव ६ लाख रुपैयाका आइसीटी सामग्री प्रदान गरेको थियो । प्रालिले यस क्षेत्रमा रहेका सहिद कृष्ण क्याम्पस, पश्चमुनिदेव मावि, जनकल्याण मावि, म्याग्देको मनपाङमा रहेको रत्न मावि लगायतका विद्यार्थीलाई आइसीटी सामग्री प्रदान गरेको थियो । साथै वडा नं. ७ मा शुक्ला आधारभूत विद्यालयको भवन निर्माण गरी यसै शैक्षिक शत्रबाट कक्षा ९ मा अध्यापनमा समेत सहयोग गरेको मानव संसाधन विभाग प्रमुख दुवाडीले जानकारी दिए ।

प्रालिको सामाजिक उत्तरदायित्व अन्तर्गत कुस्मावती आधारभूत र सरस्वती नमुना माविलाई एक÷एक थान स्कुल बस समेत प्रदान गरिएको छ । सूर्य नेपाल प्रा.लि.ले यस क्षेत्रमा विद्यालय निर्माण, सडक, बाटोघाटो, खानेपानी, एम्बुलेन्स, शव वाहन, स्वास्थ्य शिविर, नदि नियन्त्रण, शैक्षिक सामग्री वितरण तथा टिच फर नेपाल संगको सहकार्यमा बिभिन्न सामुदायिक विद्यालयहरुमा अङ्ग्रेजी, गणित, बिज्ञान र कम्प्यूटर बिषयका फेलो शिक्षक समेत उपलब्ध गर्दै आएको छ । सिमरामा मुख्य कारखाना रहेको सुर्य नेपालले शुक्लागण्डकीमा  २०७१ सालमा उद्योग सञ्चालनमा ल्याएको हो ।

प्रतिकृया दिनुहोस