• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
  • 06:28:15
  • ON AIR Anjana Swostha Jivan
  • UP NEXTShuklagandaki Samachar

खैरेनीटारमा आदिवासी जनजाति महोत्सव सुरु

दुलेगौँडा, २७ पुस  । तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारमा प्रथम आदिवासी जनजाति शुक्लागण्डकी साँस्कृतिक महोत्सव विहिवार सुरु भएको छ । 


नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्लागण्डकीको आयोजनमा भएको महोत्सव गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले आदिवासी जनजातिको इतिहास गहिरिएर अध्ययन गर्नुपर्नेमा जोड दिए । गण्डक क्षेत्र गुरुङ र मगरहरुसँग सम्बन्धित रहेको बताउदै गण्डकी प्रदेश सबै जातिको साझा नाम भएको बताए । सँस्कृति बिर्सीएर २÷४ जनाको पछि लाग्यौं भने पूर्खालाई अपमान हुन्छ उनले भने, ‘भाषा, संस्कार र संस्कृतिको संरक्षणमा हामी जुटौं ।’  नेपालको जाति इन्द्रेणी भएको उदाहरण दिदै उनले इन्द्रेणी फाटे सबै समाप्त हुने उल्लेख गरे । ‘विभिन्न जातजातिको विविधतामा हामी छौं,’ उनले भने, ‘विविधता फाट्यो भने सबै समाप्त हुन्छ ।’ 
उनले आयोजकले लिएको जातिय संग्रालय स्थापनामा प्रदेश सरकारले सकरात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए । मन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउदै ३ गुणा निजी व्यवसायलाई बढाउने योजना रहेको सुनाए । 

शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले भाषा सँस्कृति रहे नेपाली रहने बताउदै संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहने बताए । नेपाल आदीबासी जनजाती महासंघका केन्द्रिय  अध्यक्ष जगत बरामले आदिवासी जनजातिको अधिकारीको लागि आन्दोलन जारी रहेको बताए ।  

 

कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य रेखा थापा बस्याल, नेपाली कांग्रेस तनहुँका कार्यवाहक अध्यक्ष जितप्रकाश आले, नेकपाका नेता रामचन्द्र उपाध्याय, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डित, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय तनहुँकी अध्यक्ष वशुन्धरा घर्ती, वडा नं. ६ का अध्यक्ष कृष्ण बहादुर पौडेल, तनहुँ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हरि बहादुर थापा, नेवा देय दवु गण्डकीका उपाध्यक्ष हरि कुमार श्रेष्ठ, महोत्सव निर्देशक खिम बहादुर कुमाल, लगायतले सँस्कृतिलाई व्यवसायिक पाटोले जोड्न सके आम्दानी गर्न सकिने बताएका थिए ।  


महोत्सवपुर्व विभिन्न स्थानबाट झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीमा प्रस्तुत गरिएको आदिवासी जनजातीमा प्रचलित कौराहा, लाखे नाँच, झ्याउरे, सालैजो, पाउदुरे नाचसँगै भजन, चुट्का, पञ्चेबाजा, तामाङ समुदायको घोडा नाच लगायतका प्रस्तुती रहेको थियो ।  


‘अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासी जनजातिको अभियान’ भन्ने नाराका साथ सञ्चालनमा आएको महोत्सवमा स्टलको संख्या १ सय रहेको छ । जसमध्ये ७० व्यवसायिक र ३० वटा प्रर्दशनीका रहेका छन् । स्टलमा आदिवासी जनजातीको खानाको परिकार, जातीय कला संस्कृतिको जानकारी, हस्तकला प्रर्दशनी, पुस्तक प्रर्दशनी, कृषि उपजको प्रर्दशनी तथा बिक्री, दैनिक उपभोग्य बस्तुहरुको खरिद तथा बिक्री रहेको छ । अटोमोबाईल्स, सुचना केन्द्र, सेवामुलक संस्थाको प्रर्दशनी, सुचना प्रविधीको प्रर्दशनी तथा खरीद बिक्री लगायत स्टलमा राखिएको छ ।


महोत्सवमा बनाइएको आदिवासी जनजातीको परम्परागत घर धेरैको आकर्षणको केन्द्र बनेको थियो । नगरमा रहेका ८ मध्य मगर, गुरुङ, कुमाल, नेवार, भुजेल र तामाङ जातीको घर रहेका छन् । प्रत्येक जातीको घरमा मौलिक सामग्रीसंगै खानपानको व्यवस्था गरिएको छ । महोत्सवस्थलमा निर्माण गरिएको काठको  ८ पिर्के रोटे पिङ खेल्नेको घुईचो लागेको थियो । 
महोत्सव मुल संयोजक बिमल जिसीले महोत्सव अग्रज र अनुजबीचको पुस्ता हस्तान्तरणमा महत्वपुर्ण भुमिका निर्वाहा गर्ने उल्लेख गरे ।  ३ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ३ करोडको कारोबार हुने अनुमान गरिएको छ । कौराहा, रत्यौली गीत, छेलो हान्ने, तानडोरी, भलिबल र ब्याडमिन्टन प्रतियोगिता रहेका छन् । महोत्सव माघ ६ गतेसम्म हुने छ । महोत्सवबाट भएको आम्दानीले आदीवासी जनजाती संग्राहलय निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस