• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 05:37:27
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTKayakairan

भिमादको रघुमा खानेपानीको समस्या

दुलेगौँडा, २३ पुष । तनहुँको भिमाद नगरपालिका– २ रघु गाउँकी भिमशिला थापा खानेपानीको लागि धारोमा विहान ४ बजे पुग्छीन् । घण्टौ कुर्दा बल्लतल्ल ३ गाग्री पानी भर्छिन । सोहि ठाउँकी पुर्णिमाया थापालाई पनि विहान उठ्नेबित्तिकै पानीकै चिन्ता लाग्छ । ‘विहान ४ बजे उठेर धारोमा पानी भर्न लाइन बस्यो ३÷४ ग्रागीभन्दा धेरै भर्न पाईदैन’, उनले भनिन् । उनले बस्तुभाउको गोठ पानी प्रशस्त भएको ठाउँ बेसीमा राखेकी छिन् ।


‘एउटा टोलको धारोमा पानी खोल्योकी अर्को टोलमा आउदैन’, भिमशिला थप्छीन्, ‘खानेपानीको जोहो गर्ने पिरले नै हाम्रो साँझ विहान बित्ने गर्छ ।’ ‘पधेँरोसम्म पुगी पानी भरेर आउँदा झन्डै एक घण्टा समय जान्छ’, पूर्णिमायाले भनिन्, ‘बर्षाको समयमा पधेँरोको पानीले जसोतसो पुगेपनि हिउँदमा घण्टौँसम्म लाइन बस्नुपर्ने हुन्छ ।’ परिवारमा एक जनाको विहान बेलुकाको समय धारो र पधेँरो चाहार्दै वित्ने गरेको थापाले गुनसो गरिन् । ‘पानीको जोहो गर्दैमा साँझ विहान गएको छ । यसले गर्दा अरु घरधन्दा गर्न समेत भ्याइदैन’, उनले भनिन् ।


भिमशिला र पूर्णिमायाजस्तै २ सय ४९ घरधुरीका स्थानीयलाई  खानेपानीको लागि घण्टौ खर्चिनु परेको छ । हिउँदको समयमा मात्रै होइन् बाह्रैमास पानीको जोहो कसरी गर्ने भन्ने ध्याउन्नमा उनीहरु हुन्छन् । धारामा पानी पर्याप्त नआएपछि पधेँरेको भर पर्नुपर्ने बाध्यता छ । गाउँमा खानेपानीको विकल्पमा ५ वटा पधँेरो भएपनि समस्या टर्न सकेको छैन् ।  खानेपानीकै कारण होमस्टे सञ्चालन र तरकारी उत्पादनमा बाधा पुगेको उनीहरुले बताए । उनीहरुले होमस्टे तालिम पनि लिइसके । तर पाहुना आउदा पानी धेरै चाहिने हुनाले होमस्टे सञ्चालनमा ल्याउन नसकिएको बताए । 


मुहानमा पानी यथेष्ट भएपनि ट्याङकी हुदैँ धारासम्म आईपुग्दा अपुग हुने रघु खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव बिष्णुबहादुर थापाले जानकारी दिए । २ दशकको योजना पुरानो हुदैँ गएका कारण अभाव देखिएको उनले बताए ।  ‘मुलमा पानी प्रशस्त छ । व्यवस्थित नहुदाँ अपुग हुने गरेको हो’, उनले भने, ‘ अर्कोतर्फ ट्याङकीमा जम्मा भएको पानी शाखा लाइनमा वितरण  गर्नेक्रममा ठाउँठाउँमा चुहावट भएको देखिन्छ ।’   


खानेपानीको अभाव टार्न २ करोड लागतको केन्द्रिय परियोजना अन्र्तगत रघु खानेपानी योजना निर्माणको क्रममा रहेपनि बजेट अभावले दुई बर्षदेखि अलपत्र परेको अध्यक्ष लोकबहादुर थापाले बताए । मुहानमा रहने ट्याङकी र ३ वटा शाखा ट्याङकी बनिसकेको छ । शाखा ट्याङकीसम्म पाइप विस्तार गरिएको छ । मुल ट्याङकी, वितरण लाइनको पाइप विस्तार, पानीको मुललाई तारजालीले घेर्न बाँकी रहेको अध्यक्ष थापाले जानकारी दिए । 


‘काम गर्दागर्दै बजेटको सिलिङ सकिएपछि बिचमै रोकियो’ उनले थपे, ‘दुई बर्षयता बजेट परेको छैन ।’ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय तनहुँमा डेलिगेसन जादाँ यो बर्ष पुरा हुने आश्वासन पाएको उनले बताए । २०७१ कार्तिका सुरु योजना दुई बर्षमा सक्ने लक्ष्य राखिएको थियो ।  योजना सम्पन्न भएपछि २४९ घरधुरीका १ हजार ८ सय ४३ जना प्रत्यक्ष रुपमा लाभन्वित हुनेछन् । 


यता भिमाद नगरपालिकाका मेयर मेख बहादुर थापाले केन्द्रिय परियोजना सञ्चालन भएकाले नगरपालिकाले यस बजेट विनियोजन नगरेको जानकारी दिए । उनले खानेपानी, विजुली पूर्वाधार विकासको  आधारतभूत खुड्कीलो भएको बताउदै केन्द्र, प्रदेश र कुनै संस्थाको कामसँग डुप्लीकेसन नहुने ठाउँमा नगरले लगानी गर्ने उल्लेख गरे ।  
 

प्रतिकृया दिनुहोस