• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
  • 08:03:36
  • ON AIR Nepal Darpan
  • UP NEXTDifferent songs

तनहुँ– २ मा पुल निर्माणको कामले गति लिदै

संघीय सांसद केदार सिग्देल भिमाद–७ र २ नं. वडा जोड्ने जिदी खोलाको निर्माणाधिन पुलको अनुगमन गर्दै ।

दुलेगौंडा, २७ मंसिर । तनहुँ क्षेत्र नं. २ का विभिन्न क्षेत्रमा काम रोकिएका ३ वटा पुल बन्न शुरु भएको छ । प्रतिनधी सभा सदस्य केदार सिग्देलको सक्रियतापछि पुल बनाउने कामले गति लिएको हो ।  


शुक्लागण्डकी–७ र भिमाद–८ को भागर जोड्ने सेती नदिमा निर्माणाधिन पुल करिव डेढ वर्षपछि काम शुरु भएको हो । गत असारमा सक्ने गरी निर्माण सम्झौता भएपनि बिचको पिल्लर राख्ने समयमा डिजाइन परिवर्तन गर्नुपर्ने देखिएपछि काम हुन सकेको थिएन । सडक डिभिजनबाट पुलको डिजाईन परिर्वतनको लागी स्विकृती प्राप्त गरि काम गर्न शुरु गरिएको नव आगन्तुक डिभिजन प्रमुख विष्णु काफ्लेले जानकारी दिए ।


पुलको हाल दुईतर्फी पिल्लर मात्रै खडा भएको छ । ओपन फाउण्डेसन डिजाईनमा बन्न लागेको पुलको २०७२ असारमा सम्झौता भएको थियो । पुलको ठेक्का एडभेन्चर कन्सट्रक्सन प्रा.लि. चितवनले लिएको हो । मुल्य अभिवृद्धि करसहित ९ करोड ९५ लाखमा सम्झौता भएको पुलको लम्बाई ११३ मिटर र चौडाई साढे ७ मिटर रहने छ ।


भिमाद–७ र २ नं. वडा जोड्ने किहुँमार्ग अन्तर्गत जिदी खोलामा निमार्णाधिन पक्की पुलमा पनि धमाधम काम भइरहेको छ । शान्ति निर्माण सेवा प्रा.लि.ले २ वर्ष अघि पुल निर्माणको जिम्मा लिएको थियो । ६३ मिटर लामो सो पुलको हाल फाउण्डेसन तयार भइसकेको छ । ठेकेदारको पारिवारिक कारण सो पुल समयमै सम्पन्न नभएको हो । केहि दिनदेखि पुलको काम धमाधम भइरहेको कम्पनीका प्रतिनधी कमल दाहालले बताए ।


यसैगरी व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुलको बाँकी काम पनि शुरु भएको छ । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य लामो समयसम्म ठप्प रह्यो । ४० मिटर लामो पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । ड्रागन हीरा एण्ड नमिता जेभीले ४ करोड ७ लाख रुपैयाको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुलको हाल दुवैतर्फको पिल्लरमात्र उठेको छ । डिभिजन प्रमुख काफ्लेले  वर्षा अगाडि नै पुलको ढलान गरिसक्ने गरी काम गर्न निर्देशन दिएको बताए ।


तनहुँको घिरिङ गाउँपालिका–१ र स्याङ्जाको चापाकोट जोड्ने मैदी खोलामा निर्मित मोटरेबल पुलको काम भने शुरु हुन सकेको छैन् । सो पुल लामो समयदेखि वेवारिशे बनेको छ । पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले सबै स्थानमा पुगि अवलोकन गर्नुका साथै निर्माण व्यवसायीलाई चाडो सम्पन्न गर्न निर्देशन दिएका थिए ।


सांसद सिग्देलले विकास निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने बताए । उनले बजेट अभावका कारण कुनै पनि पुल रोक्न नदिने प्रष्ट पारे । ‘तपाईहरु ढुक्कले काम गर्नुहोस, बजेट अभाव भएमा ल्याउने काम मेरो हो,’ उनले भने । सांसद सिग्देलले घिरिङ र चापाकोट जोड्ने पुलको काम निरन्तरताका लागि ताकेता भइरहेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस