• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 07:58:23
  • ON AIR Filmy Song
  • UP NEXTNepal Darpan

प्रथम शुक्लागण्डकी महोत्सवको घोषणा, महोत्सव गर्ने होडबाजी

प्रथम शुक्लागण्डकी महोत्सवबारे जानकारी गराउँदै आयोजक


बिनोद ढुंगाना
दुलेगौँडा(तनहुँ), मंसिर २३
दुलेगौँडामा प्रथम शुक्लागण्डकी महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ,  दुलेगौँडा बजार इकाईले पौष ९ देखी १८ गतेसम्म महोत्सव आयोेजना गरेको शनिबार आयोजित पत्रकार सम्मलेनमा जानकारी गराईयो । 


पत्रकार सम्मेलनमा जानकारी दिदै संयोजक राजकुमार वाग्ले(राजु) ले आर्थिक, सामाजिक र सांस्कृतिक बिकासका लागी उद्योग, व्यापार, स्वास्थ्य कृषि, शिक्षा, पर्यटनको प्रर्बद्धनमा  महोत्सव आयोजना गरिएकोे बताए ।  यस क्षेत्रको आर्थिक बिकासमा महोत्सव  आवश्यक रहेको वाग्लेको भनाई छ  ।
‘व्यापारिक साँस्कृतिक, कृषि, पर्यटकिय बिकासको नारा, प्रथम शुक्लागण्डकी महोत्सवको अभिभारा’ भन्ने उद्घोषका साथ  पञ्चमुनि देव माविको खेलमैदानमा हुने महोत्सवको तयारी सुरु भईसकेको वाग्लेले जानकारी दिए ।  


महोत्सवमा २ सय स्टल रहने प्रवक्ता हरि खड्काले जनाए । खड्काले जनाएअनुसार होटल, तथा रेष्टुरेण्ट, अटोमोबाईल्स, स्थानिय कृषि उपजको बिक्री तथा प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित परम्परागत सामाग्रीको प्रर्दशनी, वित्तिय संघसंस्था र दैनिक उपभोग्य बस्तु खरिद बिक्री स्टलमा समावेश हुनेछ । ‘पाँच करोडको आर्थिक कारोबार र तिन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरेका छौँ’ प्रवक्ता खड्काले थपे, ‘आम्दानीको केही रकम पर्यटकिय सम्भावाना बोकेका स्थानको पुर्वाधार निर्माणमा खर्चिने हो ।’ 


राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त  कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, खुल्ला लोकदोहोरी गीत प्रतियोगिता, गजल प्रतियोगिता, कौराहा प्रतियोगिता, विद्याललयस्तरिय नृत्य प्रतियोगिता, शुक्लागण्डकी आइडल, खेलकुद प्रतियोगिता लगायत महोत्सवका आर्कषण हुन् । स्वास्थ्य शिविर, पुष्प प्रर्दशनी, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई महोत्सवले समावेश गर्ने आयोजकले जनाएको छ ।   

महोत्सव गर्ने होडबाजी


शुक्लागण्डकी नगरपालिकामा मेला महोत्सव गर्ने होडबाजी देखिएको छ । व्यवसायिहरुको छाता संगठन उद्योग वाणिज्य संघ, सामाजिक संस्था, जातिय संगठन र युवा क्लब महोत्सव गर्ने होडबाजीमा देखिएका हुन् । 


शुक्लागण्डकीमा यसअघि लायन्स क्लब अफ तनहुँ शुक्लागण्डको आयोजनामा  टाउनले असोज १९ देखी २८ गते सम्म भानुभक्त क्याम्पस बेलचौतारामा प्रथम शुक्लागण्डकी लायन्स महोत्सव भईसकेको छ  । दुलेगौँडा बजार इकाईले पौष ९ देखी १८ गतेसम्म प्रथम शुक्लागण्डकी महोत्सव गर्ने शनिबार घोषणा ग¥यो  । 


चैते दशैको छेकोमा खैरेनीटारमा खैरेनीटार बजार इकाईले गर्दै आईरहेको जिल्लाको ब्राण्डका रुपमा स्थापित खैरेनीटार महोत्सवले निरन्तरता पाउने निश्चित छ ।  यस बर्षदेखी नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति, शुक्लागण्डकीले पनि माघे संक्रान्ति लक्षित महोत्सव गर्ने चर्चा चलेको छ । 


गत बर्ष फागुन १६ देखि २२ गतेसम्म भएको तेस्रो कवासे रमाईलो महोत्सव र माघ २६ देखि फागुन ४ गतेसम्म  भएको प्रथम थामडाँडा साँखे सांस्कृतिक महोत्सवले निरन्तरता पाउने नपाउने निधो भएको छैन । यदि यि दुई महोत्सव पनि भएको खण्डमा शुक्लागण्डकी नगरपालिकामा भएको ठुला महोत्सवको संख्या मात्रै आधा दनर्ज पुग्नेछ ।  नगरका ग्रामिण भेगमा साँस्कृति र धार्मिक महोत्सव निरन्तर भईरहेका छन् । 


जिल्लामा हकमा तनहुँ उद्योग वाणिज्य संघ भिमाद बजार इकाइको आयोजनामा युवा रंगशाला भिमादमा कात्तिक २९ देखि मंसिर ९ गतेसम्म दोस्रो भिमाद महोत्सव र  कात्तिक ३० देखि मंसिर १२ गतेसम्म नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजनामा  दमौलीमा तेस्रो आदिवासी सांस्कृतिक महोत्सव भएका थिए । 


महोत्सवको शहरका रुपमा स्थापित पोखरासँगै रहेको शुक्लागण्डकीले पनि पोखरालाई पछ्याईरहेको छ । नयाँ बर्षदेखी सुरु भएको मेला महोत्सवको रौनक बर्षको अन्त्यसम्म पनि देखिन्छ । 


सानो क्षेत्रमा धेरै मेला महोत्सव भईरहँदा व्यवसायमा असर पुगेको एक व्यवसायिले बताए । ‘उद्योग व्यवसायको प्रर्बद्धनको नारा लगाएर आयोजित महोत्सवले प्रर्बद्धनको सट्टा थला पार्न खोजेको छ’, उनले भने ।  मुनाफा केन्द्रित नभई नयाँपन र पहिचान स्थापित गर्न सक्ने रचनात्मक मेला महोत्सव गर्न उनको सुझाव छ । स्थानिय उत्पादन, पर्यटन, कला र सँस्कृतिको प्रर्बद्धनका लागी मेला महोत्सव आयोजना गरेको आयोजकको दाबी हुन्छ । तर नारामा मात्रै सिमित हुने गरेको देखिन्छ ।  


तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाइका अध्यक्ष राजकुमार वाग्ले(राजु) ले आफुहरुले गर्न लागेको महोत्सवले स्थानिय उत्पादनको प्रर्बद्धन गर्ने दाबी गरे । उनले भने, ‘हामीले बाहिरबाट निर्यात गरिएका बस्तुको खरिदबिक्रीलाई भन्दा स्थानिय उत्पादनलाई प्राथमिकता दिनेछौँ । प्रत्येक वडाको कृषि उत्पादनको एउटा स्टल अनिवार्य राख्ने जमर्को भएको छ ।’  ‘जिल्लामा भईरहेका महोत्सवभन्दा हामीले गर्ने महोत्सव नितान्त फरक हो’, उनले भने ।  व्यवसायिहरुको प्रबर्दन र हितमा महोत्सव समर्पित हुने उनको जिकिर छ । 
 

प्रतिकृया दिनुहोस