• ON AIR Hello Shuklagandaki
  • UP NEXTNepal Khabar

फलाम पिटेर गुजरा चलाउदै

हसिँया अर्चप्दै स्यानु सुनार । तस्बिर : बिनोद ढुंगाना

 

बिनोद ढुंगाना
दुलेगौँडा(तनहुँ), मंसिर २१

पछिल्लो समय पुरुषहरुले समेत छाड्दै गएका छन् दलित समुदायको पुख्र्यौली आरन पेशा  । शुक्लागण्डकी –११ पाल्पालीछापकी स्यानु सुनार भने पुख्र्यौली आरन पेशा संरक्षणमा तल्लिन छन् । उनले बर्षौदेखी आरन चलाएर गाउँलेको सेवा गरिरहेकी छन् । 


विहान बेलुकाको समय उनको व्यस्तता आरनमा हुन्छ । काँचो फलामलाई गालेर हातहतियार र भाँडावर्तन बनाउन उनि कडा मेहेनत गर्छिन । पुराना सामानलाई आगोमा रातो हुञ्जेल तताउँदै घनले पिटेर नयाँ बनाउछिन् । 


यही पेशाले सुनारले परिवारको गुजारा चलाएकी छन् । परिवारमा छोरा, बुहारी र छोरी छन् । १५ बर्षअघि श्रीमानको मृत्य पश्चात फिरफिरेकी सुनार माइती  पाल्पालीछाप बस्दै आएकी हुन् । त्यसपछि उनले गुजारा चलाउन आरनको साहारा लिएको बताइन् ।  


‘बुबाले पहिल्यैदेखी आरन चलाउनु हुन्थ्यो’, उनले भनिन्, ‘मैले पनि बुबासँगै सिकेकी हुँ ।’ उनले आरनको काम गर्न थालेको पन्ध्र बर्ष भएको बताइन् । गाउँलेको आवश्यकता अनुसार नयाँ हसिँया, कुटो, कोदालो, बञ्चरो बनाउने र अर्चाप्ने उनको भनाई छ ।  


सुनारको आरनमा नाम्सीकोट, पाल्पालीछाप, अलैँचे, चिसापानी क्षेत्रबाट नियमित ९५ घरले सेवा लिने गरेका छन् । ‘हातहतियार र भाडावर्तन मर्मत गरेबापत बर्षको एकैपटक ज्याला दिनेहरुसँग एक हजार लिन्छु’, उनले भनिन् ‘कहिलेकाहीँ आउनेहरुले एउटा सामानको ५० रुपैयाँदेखी १ सय ५० सम्म दिने गरेका छन् ।  नयाँ बनाउदा कम्तिमा पनि ५ सय रुपैयाँ लाग्छ ।’ 


आरन चलाएर मसिक १५ हजार कमाई हुने गरेको स्यानुले जानकारी दिइन । ‘खेतबारीको काम हुने समयमा भ्याईनभ्याई हुन्छ । कमाई पनि धेरै हुन्छ’, उनले अगाडी जोडिन, ‘कामको चटारो हुदाँ भाईले सघाउदै आएको छ ।’ 


अबका केहीबर्षपछि गाउँलेलाई सेवा दिन नसक्ने चिन्ताले उनलाई सताएको छ । ‘आरन चलाउनु बलको काम हो ।  बुढेसकाल लागेर होला आजभोलि त पहिला जस्तो काम गर्न सक्दिन’, उनले भनिन् ।


गाउँलेले उनलाई वनमा खेरा जाने रुखका हाँगाविगाँको काटेर गोल बनाउन छुट दिएका छन् । अझै पनि महिला र पुरुषबिच कामको आधारमा भेदभाव भएकोे पाइन्छ  । सुनारले पुरुषसरह महिलाले पनि कडा मेहेनत र परिश्रम गर्न सक्छन भन्ने नमुना पेश गर्न सफल भएकी छन् । 
 

प्रतिकृया दिनुहोस