• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 07:31:07
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTFilmy Song

मादलको ताल सिक्दै बिरुवाका आमा समुह

मादल बजाउँदै बिरुवा गाउँपालिकाका आमा समुहका प्रतिनिधीहरु । तस्बिर : बिनोद ढुंगाना


बिनोद ढुंगाना
बिरुवा(स्याङजा), मंसिर २०

बिरुवा गाउँपालिका – ८ ललाङकी ७२ बर्षिय बृद्धा बिष्णुमायाँ रानाले मादल बजाउने तरिका सिक्न थालेकी छन् । नाचगान भनेपछि हुरुक्कै हुने उनलाई मादलको ताल सिक्न उमेरले छेकेन । बिरुवाको कटहरेमा भईरहेको मादल बजाउने तालिममा सहभागी बनी उनले मादल बजाउने शैली सिकिरहेकी छन् । पुरानो गीत ‘झप्यो गैरी खेत’को एक टुक्का गाएर सुनाउँदै उनले भनिन्, ‘म रंग–रमाईलो गर्न रुचाउँछु । अलि अलि गीत गाउँछु  । आफैँले गाउने भएपछि मादल बजाउन पनि सिक्नु पर्छ भन्ने लागेर तालिम लिन आएकी ।’


बिरुवा बजारकी नन्दकुमारी खड्का पनि मादल बजाउन सिक्दै छिन् । ‘मादल समाउने तरिका समेत थाहा थिएन । अहिले त कुन गीतमा कस्तो तालमा बजाउने हो आफैँले जानेकी छु’, उनले भनिन् । ‘घरगाउँमा आमा समुहले गर्ने नाचगानका कार्यक्रममा मादल बजाउन पुरुषको भर पर्नु पर्दैन’, उनले भनिन्, ‘तालिमले हामी आफैँले बजाउन सक्ने सक्षम बनाएको छ ।’   


बिष्णुमायाँ र नन्दकुमारी मात्रै होईन गाउँपालिका भरका आमा समुहका  १५ जना प्रतिनिधीहरु मादलको ताल सिक्न जुटेका छन् । उनिहरुले घरी ‘झिमझिम सानु नझिम्क्याउ परेली’ भन्दै तालमा ताल मिलाउँदै मादल बजाईरहेका हुन्छन् त घरी लामो भाका हालेर ‘ज्याग्दी रयाले’ गाउँदै गीतसँगै मादलको ताल गुञ्जाइरहेका छन् ।
उनिहरुलाई मादल बजाउन सिक्ने चाजोपाँजो बिरुवा सांस्कृतिक मञ्चले मिलाएको  हो । लोप हुन आटेका लोक भाका, लोक बाजा र लोक नृत्यको संरक्षण र प्रर्बद्धनका कार्यक्रम सांस्कृतिक मञ्चले गर्दै आईरहेको छ ।  


तिहारमा देउसी भैलोे खेलेर संकलित रकमले आमा समुहरुलाई निशुल्क मादल बजाउने तालिम दिइएकोे सांस्कृतिक मञ्चका कोषाध्यक्ष गणेश रानाले बताए । मादल बजाउने कलाको अभावमा नेपालमा मात्रै बजाइने मौलिक लोक बाजा मादलको ताल र बोल लोप हुँदै गएकाले संरक्षणको अभियानमा लागेको उनको भनाई छ ।   
‘पश्चिमा संगीतको व्यापकताले अचेल गाउँमा मादल बजेको सुन्न पनि नौलो हुन थालेको छ’, उनले भने, ‘बजाउनेहरूको संख्यामा कमी आएको छ ।’ ‘मादल बजाउन जान्ने पुरुषहरु वैदेशिक रोजगारमा गएका छन् ।

गाउँघरमा हुने पुजाआजामा भजन गाउँदा, विहेमा रत्यौली खेल्दा, लाहुरे आएको घरमा रोधी बस्दा महिलाहरुलाई मादल बजाउन समस्या देखिएकाले आमासमुह लक्षित तालिम आयोजना गरेका हौँ’, रानाले भने । महिलाहरुले नाचगानबाट हुने अर्थ संकलनलाई समाज परिवर्तनमा लगानी गरेको उनले स्पष्ट पारे । मञ्चले गतबर्ष आमा समुहलाई लक्षित गर्दै उद्घोषण तालिम दिएको थियो । 
 

प्रतिकृया दिनुहोस