• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
  • 07:28:14
  • ON AIR Shuklagandaki Samachar
  • UP NEXTFilmy Song

कर प्रशासन व्यवासायी मैत्री हुनुपर्ने

दुलेगौंडा, ६ मंसिर । कर प्रशासन व्यवासायीमैत्री र कर तिर्ने प्रणाली सहज हुन सके राजश्व वृद्धि उल्लेख्य मात्रामा हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईले बुधवार खैरेनीटारमा आयोजना गरेको वर्तमान कर निति सम्बन्धी प्रशिक्षण एवम् अन्तरक्रिया कार्यक्रममा सो कुरामा जोड दिएका हुन् । 


पारदर्शी ढंगले कर तिरेमा आगामी दिनमा व्यवसायीहरुलाई झन्झट नहुने उनीहरुको भनाई थियो । सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डितले कर राष्ट्र सम्मृद्धिको मुल आधार रक्तसञ्चार भएको बताए । उनले कार्यालयले कहिलेकाँही व्यवसायीको व्यवहारिक पक्षलाई समेत हेरेर निर्णय गर्नुपर्ने बताए ।  ‘केहि वर्ष पहिलेसम्म राजश्व कार्यालयका प्रतिनिधी बजारमा आउदा व्यवसायीहरु झस्कन्थे,’ उनले भने, हिजोआज उनीहरुमा विस्तारै ज्ञान बढ्दै गएको छ  ।’ व्यवसायीहरुको आम्दानी बढेमात्र राज्यलाई कर बढ्ने उनले बताए । ‘यस क्षेत्रमा व्यवसाय गर्ने कोहि विदेशबाट फर्केका छन, कोहि यहि केहि गरौं भन्ने छन्, कतिपय गाउँबाट बालबच्चा पढाउन आउने छन,’ उनले भने–‘सबैलाई कर र व्यवसायबारे ज्ञान पनि नहुन सक्छ, । उनीहरुको आम्दानी बढेमात्र कर बढ्छ, व्यवसायीमैत्री नभए उनीहरु पलायन पनि हुन सक्छन, यो ख्याल हुनुपर्छ ।’


आन्तरिक राजश्व कार्यालय दमौलीका प्रमुख कर अधिकृत सुर्यप्रसाद सेढाइले करलाई बाध्यताको रुपमा नलिन आग्रह गरे । ‘अझैपनि कर तिर्न बाध्यताको रुपमा लिने गरिएको छ, उनले भने–‘आफैले आम्दानीको आधारमा स्वनिर्धारण हुने कर कसरी बाध्यता हुन सक्छ ?’ उनले प्रश्न गरे । व्यवसायीहरुलाई सहजताको लागि करप्रणाली डिजिटल तथा इपेमेन्ट गर्ने तयारी भइरहेको उनले जानकारी दिए । व्यवसायीहरुले झन्झटिलो भएको गुनासोलाई सम्बोधन गर्ने प्रमुख कर अधिकृत सेढाइले छिटो छरितो बनाउन कार्यालय लागिपरेको उल्लेख गरे । 
तनहुँ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष हरि बहादुर थापाले कर तिरेपछि हाम्रै सम्मृद्धि हुने बताए । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार इकाईका पूर्व सभापति समुन्द्रराम श्रेष्ठले स्थानीयस्तरमा हुने मेला महोत्सवले साना व्यवसायीलाई पलायन हुने वातावरण भएको बताउदै बेलैमा सजग हुनुपर्नेमा जोड दिए । कर अधिकृत रामकुमार सुवेदीले लामो समय प्यानमा दर्ता नगरेका र दर्ता गरेकाहरु पनि विवरण नबुझाउनेलाई अहिले छुटको व्यवस्था रहेको जानकारी दिए ।   सो अवसरमा इकाईका उपसभापति सुजित हिराचन, सचिव गंगाराम श्रेष्ठ, व्यवसायी विरेन्द्र कुमार श्रेष्ठ लगायतले विभिन्न समस्या राखेका थिए ।  


आन्तरिक राजश्व कार्यालय दमौलीको सहयोगमा भएको कार्यक्रममा खैरनीटारका व्यवसायीहरुको सहभागिता रहेको थियो । कर सप्ताहको अवसरमा जिल्लाका विभिन्न स्थानमा यस प्रकारको कार्यक्रम गरिएको छ । करदाता सेवा कार्यालयबाट हालै आन्तरिक राजश्व कार्यालयमा स्तरोन्नती भएको सो कार्यालयको तनहुँसँगै, गोरखा, लमजुङ र मनाङ कार्यक्षेत्र रहेको छ । कार्यालयलाई अब फूलफेजको अधिकार छ । कार्यालयको करदाता कुल २५ हजार छन् । यसमध्य २ हजार ६ सय मुल्य अभिवृद्धि करमा छन् भने बाँकी प्यानमा छन् । 
 

प्रतिकृया दिनुहोस