• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 09:21:32
  • ON AIR Sikchya Sambad
  • UP NEXTShuklagandaki Samachar

शुक्लागण्डकीमा अत्याधुनिक खेलग्राम निर्माण हुने

दुलेगौंडा, ३ मंसिर । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गणपतिमा अत्याधुनिक खेलग्राम निर्माण हुने भएको छ । 


गांउफर्कोदय माध्यमिक विद्यालयको स्वामित्वमा रहेको १ सय ५१ रोपनी जग्गामा खेलग्राम निर्माण हुने भएको हो । विद्यालयको स्वामित्वमा रहेको १ सय ७२ रोपनीमध्य २० रोपनी विद्यालयको पूर्वाधार निर्माणको लागि प्रयोग गरिने छ । बाँकी खेलग्रामको लागि उपयोग गरिने छ । 


विहिवार विद्यालयमा आयोजित एक कार्यक्रममा पतञ्जली योगपीठ नेपालका केन्द्रिय अध्यक्ष शालिकराम सिंहले करिव २० करोडको लगानीमा अत्याधुनिक खेलग्राम निर्माण गर्ने घोषणा गरेका हुन् । विद्यालयका पूर्व विद्यार्थी तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र शुक्लागण्डकी नपाका प्रमुख किसान गुरूङ्गको पहलमा खेलग्राम निर्माणको लागि प्रक्रिया अघि बढेको विद्यालयले जनाएको छ ।  


नगर प्रमुख किसान गुरूङ्गले काम थालनीको शुरुवातको चरणमा रहेको जानकारी दिए । ‘हामी अहिले बल्ल शुरु गर्दैछौं, उनले भने– ‘उनीहरुले के कति सहयोग गर्छन, पछि थाहा हुने छ ।’ उनले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको प्रतियोगिताको लागि अत्याधुनिक रंगशालाको लागि प्रस्ताव पेश गरेको उल्लेख गरे । नगर प्रमुख गुरुङले वडा नं. ९ मा  जडिबुटि संकलन केन्द्र र अर्गानिक खेतीको लागि समेत पतञ्जलीलाइ प्रस्ताव गरेको बताए । 


नगरपालिकाले आवश्यक प्रकृया पुरा गरे मंसिर १२ गते पतञ्जली योग पीठका स्वामी वालकृष्ण आचार्यले शिलन्यास गर्ने कार्यक्रम रहेका  नेता पौडेलले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक अम्विका घिमिरले खेलग्राम निर्माणपछि यस क्षेत्र विकासले फड्को मार्ने बताए । ‘यत्तिकै प्रयोगविहिन भएर बसेको जमिन, अब प्रयोगमा आउने भयो, उनले भने, ‘यसले समग्र नगरपालिकाको खेल क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुग्ने छ ।’ 


कार्यपालिकाको बैठकमा यससँग सम्बन्धित निर्णय भइसकेको वडा नं. ८ का अध्यक्ष कृष्ण रेग्मीले बताए । अब भूमि सुधार मन्त्रालयमा भोगाधिकार लिने काम गर्नुपर्नेछ, यसपछि नगरपालिकासँग सम्झौता भएपछि शिलान्यास गर्ने योजनामा छौं’ रेग्मीले भने ।  खेलग्राम निर्माण सम्पन्न भएपछि पतञ्जलीले नगरपालिकालाई हस्तान्तरण गर्नेछ । खेलग्रामको प्रयोग भएवापत विद्यालय र नगरपालिकालाई समेत आम्दानीको स्रोत बन्ने उनले उल्लेख गरे । वडा नं. ९ का अध्यक्ष लोकनारायण श्रेष्ठले वडामा गौं संरक्षण केन्द्र स्थापना गर्ने निर्णय भएको जानकारी दिए । ‘सो केन्द्रबाट निस्केको मल अर्गानिक खेतीको लागि उपयुक्त हुने देखिएको छ,  सामान्य छलफल भइरहेको छ,’ उनले भने ‘अर्को कार्यपालिका बैठकमा अझ प्रष्ट हुने छ ।’ 
 

प्रतिकृया दिनुहोस