• शनिबार १-८-२०८१/Saturday 04-20-2024
  • 02:07:02
  • ON AIR
  • UP NEXTBhakti Darshan

आस्थाको धरोहर ढोरबाराही मन्दिर र रहस्यमयी लहरी

 

बिनोद ढुंगाना
तनहुँ जिल्लामा धार्मिक स्थलहरु धेरै छन् । तिनै मध्यको एक हो ढोरबाराही मन्दिर । धार्मिक आस्थाको धरोहरका रुपमा लिइने मन्दिर शुक्लागण्डकी– ९ बाजस्थलामा अवस्थित छ । जंगलले चारैतिर घेरिएको पहाडको बिचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउछ । धार्मिक पर्यटनको निकै सम्भावाना बोकेको भएपनि मन्दिरको प्रचारप्रसार र प्रर्बद्धन भने खासै हुन सकेको छैन् । ढोरबारही मन्दिरलाई भगवान् बिष्णुको तेस्रो अवतारका रुपमा लिने गरिन्छ  । 


मन्दिर जीर्णोद्धारका क्रममा फेला परेका घण्टाहरुमध्ये एउटा घण्टामा नेवारी भाषामा नेपाल संवत ९६७ लेखिएको पाइएको मन्दिरका पुजारी चिरञ्जिवी लम्सालले बताए । यसैको आधरमा पनि मन्दिरले धार्मिक र ऐतिहासिक महत्व बोकेको पाइन्छ । पुजारी लम्सालका अनुसार सो घण्टा अहिले पनि सुरक्षित रहेको छ । स्कन्दपुराणको हिमवतखण्डमा ढोरबाराहीको महिमाबारे चर्चा गरिएको पुजारी लम्सालले बताए ।

पुरानो ढोरबाराही मन्दिर


मन्दिरमा नयाँबर्षको दिन, बैशाख महिनाभर, बडादशैँ, चैतेदशैँको नवदुर्गा अवधिभर, श्रीपञ्चमि र  हिउदयाम विशेष पुजाअर्चनाका लागी दर्शनार्थीको अत्याधिक भिड लाग्ने गर्दछ । एकादशी, औँसी, सोह्रश्राद्ध, तीजको पञ्चमी तथा साउन महिनाभर मन्दिरमा पशुवली दिइदैन् । यो समयमा भने मन्दिरमा विभिन्न प्रकारका पुजापाठ गर्ने गरेको पुजारी लम्साल बताउछन् । मन्दिरमा बोका, राँगाको वली दिइन्छ भने परेवा उडाउने प्रचलन छ । 


आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासकासाथ ढोरबाराही मन्दिरको दर्शनका लागी भक्तजन आउने गर्दछन् । मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत मुलुकका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।


                     चकित बनाउने लहरी


मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा पन्ध्र मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरबाराही मन्दिरप्रतिको आस्थालाइ अझ बढाएको छ । पोखरीको मुलबाट पानीको ठूलो भल आउछ । एकैछिनमा फेरि स्वतः घट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरबाराही माता प्रसन्न हुदाँ लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ । 


पोखरीको लहरी छुट्ने द्वारमा रजबाम बस्ने गर्दछ  । ‘रजबाम विशेष गरि लहरी छुट्ने बेला पोखरीमा निस्कने गर्दछ’, स्थानिय शिवशंकर बानीयाँले भने, ‘लहरी छुट्ने बेलामा मात्र रजबामको दर्शन पाइने हुदाँ यसलाई सौभाग्यका रुपमा लिइन्छ ।’ ‘देशमा ठुला आन्दोलन, हत्याहिंसा, विनाश र अनिष्ठ हुने संकेत पोखरीमा छुट्ने लहरीले दिने गर्दछ’, बानियाँले अगाडी जोडे, ‘यस्तो हुनुपुर्व लहरी बन्द भएको इतिहास छ ।’ 
०४२ सालदेखि ०४६ सालसम्म पोखरीमा लहरी छुट्न बन्द भएको थियो । ‘त्यसपछि निरन्तर छुटिरहेको लहरी २०६६ सालको श्रावण महिनामा आएर बन्द भयो’, बानियाँले अगाडी जोडे, ‘२०७२ सालको विनाशकारी भुकम्प गएको केहि दिनमा एकपटक मात्रै छुटेको लहरी त्यसपछि असारबाट भने निरन्तर छ ।’ हिउँदयाममा केही समय लहरी छुट्दैन । उक्त समयमा ढोरबाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ । 


                बजेट अभावले बिकास भएन 


बजेट अभावले मन्दिरको बिकास र प्रचारप्रसार हुन नसकेको बाजस्थला टोल बिकास संस्थाका अध्यक्ष खिमबहादुर वि.क.ले बताए ।  ‘ तिन बर्ष अगाडी शुक्लागण्डकी नगरपालिकाले मन्दिर पुजा व्यवस्थापन समितिलाइ हस्तक्षेप गरी निष्कृय गराएपनि अझैसम्म समिति गठन हुन सकेको छैन’, उनले भने, ‘नगरले पनि मन्दिर व्यवस्थापनमा चासो दिदैन् । कुन निकायले मन्दिरलाइ व्यवस्थापन गर्ने हो भन्ने स्पष्ट भएमा मन्दिरको विकासले गति लिने थियो ।’  ‘मन्दिरलाइ राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा चिनाउन प्रचारप्रसारको आवश्यकता छ’, उनी भन्छन्, ‘सम्बन्धित निकायको ध्यान जाओस् ।’ मन्दिर परिसरमा लामो समयदेखि सरसफाई हुन सकेको छैन । फोहोरको डुंगुर थुप्रिएको छ । ‘यसो हुदाँ मन्दिर आउने भक्तजनमा नकरात्मक सन्देश जान्छ’ उनले थपे, ‘स्थानीयबासी पनि मन्दिरको सफाइका लागी सचेत हुनुपर्दछ ।’ बजेट नपाउदा  पुजारी लम्सालले आफ्नै खर्चमा  मन्दिरको रंगरोगन गर्ने गरेका छन् । 


अध्ययन कार्यदल गठन


२०७२ सालमा शुक्लागण्डकी नगरपालिकाका तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत हरिराम नागिलाले मन्दिर नगरपालिकाको मातहातमा ल्याएर व्यवस्थापन समितिको विघठन गराएका थिए । त्यसयता मन्दिर व्यवस्थापन समिति गठन हुन सकेको छैन भने नगरपालिकाले मन्दिरको आम्दानी मात्रै हडपेको र व्यवस्थापनमा चासो नदिएको भन्दै आलोचना हुदै आएको छ । हालै बसेको नगर कार्यपालिकाको बैठकले शुक्लागण्डकी –९ का अध्यक्ष लोकनारायण श्रेष्ठको संयोजकत्वमा वडा नम्बर – ८ का अध्यक्ष कृष्ण रेग्मि र वडा नम्बर –  १० का अध्यक्ष रामचन्द्र भण्डारी सदस्य रहने गरी अध्ययन कार्यदल गठन गरेको छ । 


समितिले ढोरबाराही मन्दिरको नयाँ विधान निर्माण गर्न अध्ययन प्रतिवेदन तयार पारिरहेको समिति सदस्य कृष्ण रेग्मिले बताए । उनले तनहुँकै प्रसिद्ध धार्मिकस्थल छाब्दी बाराही मन्दिर र नवलपरासीको मौलाकालिका मन्दिरको अध्यनन गरेको जनाए ।  ‘त्यहाँको अध्ययन अनुभवलाइ सदुपयोग गरेर प्रतिवेदन तयार पारेका छौँ’, रेग्मिले भने, ‘एक हप्ताभित्र प्रतिवेदन कार्यपालिकामा पेश हुन्छ ।’ प्रतिवेदनको निष्कर्षको आधरमा नगरपालिकाले अधिकारसम्पन्न मन्दिर व्यवस्थापन समिति बनाउने भएको छ । समिति गठनपश्चात मन्दिरलाइ नयाँ व्यवस्थापनका साथ अगाडी बढाईने रेग्मिले बताए । 

 

मन्दिर व्यवस्थापनका लागी १० लाख


नगरपालिकाले ढोरबाराही मन्दिर क्षेत्र बिकास व्यवस्थापनका लागी चालु आर्थिक बर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्दिरको केही मुज चमेली पार्क निर्माणका लागी ७ लाख विनियोजन भएको छ । गतबर्ष ढोरबाराही जाने सडक कालोपत्रे गर्न १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । पाटनदेखि साउनडाडासम्म ६ सय मिटर सडक दुबैतर्फ नालासहित कालोपत्रे र बाराही खोलासम्म ३ सय मिटर एकतर्फी पक्की नालासहित ग्राभेल गरिएको छ । बाँकी डेढ किलोमिटर कालोपत्रे नहुदाँ सडक बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुदाँ मन्दिरसम्म पुग्ने भक्तजनले सास्ती खेप्नु परेको छ । बाँकी सडक कालोपत्रे र मन्दिरमा बिजुली प्राथमिताका साथ  व्यवस्था गरिदिन स्थानियको माग छ । 

वडाअध्यक्ष लोकनारयण श्रेष्ठ

‘प्रचारप्रसार गर्न श्रीपञ्चमी मेला गर्दैै छौँ’
लोकनारायण श्रेष्ठ, वडाअध्यक्ष शुक्लागण्डकी–९


ढोरबाराही मन्दिर परापुर्व कालदेखि नै पुजाअर्चना हुदै आइरहेको धार्मिक पर्यटकिय स्थल हो । हाल नगरपालिकाले तात्वधानमा सञ्चालित भइरहेको छ । वडा कार्यलय र नगरपालिकाको समन्वयमा अहिले तिन बर्षयता नेतृत्व विहिन भएको मन्दिरको व्यवस्थापनका लागी नयाँ समिति गठनको प्रयास गर्दैछौैँ । मन्दिरको स्वामित्व अब स्थानीयलाई हस्तान्तरण गर्नु आवश्यक छ । मन्दिरको बिकासका लागी अध्ययन समिति बनाएर स्थानिय, पुर्व व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल, विभिन्न मन्दिरमा पुगेर अध्ययन पनि ग¥यौँ । पुरानो विधानलाइ संशोधन गरेपछि कार्यपालिका बैठकमा पेश गरेपछि नयाँ कार्यविधी बनाएर नयाँ समिति गठन हुन्छ  । २०६४ सालसम्ममा गुठी अन्र्तगत सञ्चालित मन्दिर त्यसपछि स्थानिय समिति गठन गरेर चलाइएको थियो । तिन बर्ष अगाडी विघटन भएको समिति विवादका कारण पुर्नगठन हुन नसकेको हो । 
समिति नभएको अवस्थामा नगरपालिकाले चासो नदिदाँ वडा कार्यलयले मन्दिरको सरसफाइका लागी बाजस्थला टोल समिति र शुक्लेश्वर बैजनाथ बोलबम समुहसँग सहकार्य गरेर सरसफाइ गरेको छ ।  यहाँ  पहिले पहिले श्रीपञ्चमीको बेलामा मेला लाग्ने गर्दथ्यो । पछिल्लो समय मेला हराउदै गएको छ । वडा कार्यलय र स्थानियले सहकार्य गरि मन्दिरको प्रचारप्रसार र प्रर्बदनका निम्ति यस बर्षको श्रीपञ्चमिमा तिन दिन सम्म श्रीपञ्चमी मेला सञ्चालन गर्ने योजनामा छौँ ।  

स्रोतः नागरिक राष्ट्रिय दैनिक
 

प्रतिकृया दिनुहोस