• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
  • 04:23:24
  • ON AIR Your Choice
  • UP NEXTShuklagandaki Samachar

जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल बन्दै

दुलेगौंडा, १४ असोज । मानिसको जीवनशैलीमा आएको परिवर्तनका कारण नेपालमा मुटु रोग जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । विश्व मुटु दिवसको अवसरमा लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटी र तनहुँ सेवा हस्पिटलले शनिवार दुलेगौंडामा आयोजना गरेको निशुल्क मुटु तथा रक्तचाप परिक्षणमा बोल्ने चिकित्सकले यस्तो बताएका हुन् ।

जीवनशैलीसँगै धूमपान, मोटोपन, शारीरिक अभ्यासको कमी, असन्तुलित आहार, अल्छिपन, बनावटी खानाको अत्याधिक प्रयोग, मानसिक तनावका कारण मुटु रोगको समस्या बढेको डा. शंकराज पौडेलले बताए । डा. पौडेलले नेपालमा हृदयाघातसँगै  उच्च रक्तचाप र मधुमेहजस्ता घातक रोग तीव्र गतिमा बढिरहेको जानकारी दिए । अर्को चिकित्सक डा. प्रकाश रावतले आहार विहारमा सन्तुलन राख्नुपर्नेमा जोड दिए । उनले मानिसको जीवनशैलीलाई ध्यान दिएर दैनिक एक घण्टा हिँड्ने बानी बसाल्नुपर्ने बताए  ।


सो अवसरमा बोल्दै प्रमुख अतिथी लायन्सका रिजन चयेर्स पर्सन कृष्ण प्रसाद पौडेल (पिके) ले आफ्नो स्वास्थ्य आफै ख्याल गर्नुपर्ने उल्लेख गरे । लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष हरि खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जोन चेयर पर्सन ज्योति कुमार श्रेष्ठ, लायन्स क्लव अफ शुक्लागण्डकीका अध्यक्ष सुमन आले, लायन्स क्लव अफ दुलेगौंडा खैरेनी सिटीका सदस्य धनञ्जय वाग्ले, शुक्लागण्डकी एफएमका स्टेसन मेनेजर राजन उपाध्याय लगायतले मुटुरोगबाट बच्न खानपिन र व्यायममा ध्यान दिनुपर्ने बताए । क्लव सचिव फडिन्द्र पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष महदत्त पोख्रेलले गरेका थिए । 


नेपालमा हाल २५ प्रतिशत मानिस मुटु रोगबाट पीडित रहेको अध्ययनले देखाएको छ ।  यसलाई सङ्ख्यामा परिणत गर्ने हो भने ६५ लाख  जनता कुनै न कुनै मुटु रोगबाट ग्रस्त छन् ।  नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार नेपालमा मुटु रोगीको सङ्ख्या १० वर्षयता पाँच गुणाले वृद्धि भएको छ ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० सम्ममा नेपाललगायत विकासोन्मुख राष्ट्रमा हृदयाघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान गरिएको छ । सन् २०२० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेको सङ्ख्या बर्से्नि २ करोड ५० लाख पुग्नेछ र हृदयाघातले सरुवा रोगलाई उछिनेर संसार कै हत्यारा नम्बर एकका रोगका रूपमा स्थापित हुनेछ ।  

यो क्रम निरन्तर बढ्दै जाने हो भने केही वर्ष्भित्र नेपालमा जति मानिस मर्छन् त्यसको ५० प्रतिशत हृदयाघातलगायत मुटुसम्बन्धी रोगका कारणले मात्र मर्ने देखिन्छ ।  १० वर्षअघिसम्म ५० वर्ष नाघेपछि मात्र मुटुसम्बन्धी समस्या देखिने गरेकोमा हाल युवा अवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको छ ।   
 

प्रतिकृया दिनुहोस